Logo
७ भदौ २०८२, शनिबार

अस्पतालबाट डिस्चार्ज भएका कैदीबन्दी अस्पतालमै, फेरि झडप हुने डरले अन्यत्र सार्ने तयारी

अक्षरपाटी
२०८२ साउन २८ , बुधबार ०४:०८ मा प्रकाशित

धनगढी । गत शुक्रबार कैलाली कारागारमा रहेका कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४९ जना घाइते भए।

तींमध्ये २७ जना घाइते कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ तर उनीहरुलाई कैलाली कारागार पठाइएको छैन।

उनीहरुलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालले हिजै डिस्चार्ज गरे पनि कारागारमा फिर्ता पठाउँदा फेरि झडप हुने डरले अन्यत्रै सार्ने तयारी भएको छ।

पुनः झडप नहोस भनेर उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्न समन्वय भइरहेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनले अवस्था फेरि अशान्त नहोस् भनेर डिस्चार्ज भएकालाई अन्यत्र सार्ने विकल्प खोजी भइरहेको जनाएको छ।

‘२७ जना हिजो डिस्चार्ज हुनुभएको छ। कारागारभित्र ल्याउँदा उहाँहरूमाथि फेरि केही हुन सक्छ, कारागार अशान्त बन्न सक्छ भनेर केही दिन अस्पतालमै राख्ने कि भन्ने छ,’ कारागार प्रशासनले भनेको छ, ‘उहाँहरूको अन्यत्र सरुवा गर्ने विकल्पमा कुरा भइरहेको छ।’

डिस्चार्ज भएकामध्ये तीनजनालाई आज जिल्ला कारागार कञ्चनपुर सरुवा गरिएको छ।

कैलाली कारागारभित्र शुक्रबार राति भएको हिंसात्मक घटनामा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।

तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कैदीबन्दी झडप कैलाली कारागार