काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीच बहुआयमिक सम्बन्ध रहेको बताएका छन्।
आज भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा उनले अहिलेसम्म नेपाललाई भारतको सहयोग र भारतलाई नेपालको सहयोग निरन्तर रहिआएको बताए।
‘७९ औं भारतको स्वतन्त्रता दिवसको हार्दिक शुभकामना । दुई देशबीचको मित्रवत सम्बन्ध फेरि पनि प्रगाढ बन्नेछ । हाम्रो बहुआयमिक सम्बन्ध, आर्थिक, सांस्कृतिक सबै रुपले नेपाल र भारत जोडिएर बसेका छन् । भारतको नेपाललाई सहयोग छ । नेपालको भारतलाई सहयोग छ,’ उनले भने ।
उनले महाभारत, रामायण कालदेखि लिएर आजसम्म भारत र नेपालको बीचमा अन्योन्याश्रित सम्बन्ध भएको स्मरण गर्दै भने, ‘सांस्कृतिक सम्बन्ध छ, छिमेकीको सम्बन्ध छ । मर्दा र पर्दाको सम्बन्ध पनि छ ।’
भारत विश्वको तेस्रो लार्जेस्ट इकोनोमीमा फड्को मार्दै गर्दाखेरी नेपालले भारतसँग थप अपेक्षा गरेको उनले बताए । नेपालले भारतसँग आर्थिक सम्बन्ध कायम गर्न चाहेको र हिजोको रोटी–बेटीको सम्बन्ध आजको दिनसम्म आइपुग्दा केही फेरिएको उनले बताए।
‘हामी आर्थिक रुपमा सम्बन्ध विस्तार गर्न चाहन्छौं । नेपालका सीपयुक्त युवालाई भारतको बजारमा स्थापित हुने मौका भारतले दिनुपर्छ,’ उनले भने ।
नेपाल भौगोलिक रुपमा सानो भए पनि सार्वभौमसत्ता र अखण्डताप्रति आफूहरु दृढ संकल्पित रहेको पनि उनले बताए। नेपालको राष्ट्रिय अखण्डतालाई थप मजबुद हुनेगरी काम गरिनुपर्ने उनले बताए।
सरकारले सात बुँदे सहमति अनुसार काम गरेन
साथै, फरक प्रसंगमा उनले कांग्रेस–एमालेको सरकार बन्दा भएको सात बुँदे सहमतिअनुसार काम हुन नसकेको बताए। उनले सरकार बन्दाका सहमतिहरु पूरा गर्न द्रुत गतिमा अगाडि बढ्नुपर्ने बताए ।
‘सात बुँदे सहमतिमा सरकार निर्माण हुँदै गर्दाखेरी भएको सम्झौताहरु कार्यान्वयन भएका छैनन् । यसमा सरकार द्रुत गतिमा लाग्नुपर्छ भनेर हामीले निर्णय गरेका छौं । सरकारको प्रभावकारिता चाहिएको छ । सरकारले जनता केन्द्रीत काम गर्नुपर्छ भन्ने कुरामा हामी लागेका छौं,’ उनले भने ।
भ्रष्टाचारलगायतका मुद्दाहरुमा सरकारले जनतामा आशा जाग्नेगरी काम गर्छौं भनेर गरेको सम्झौता पूरा गर्नुपर्ने उनले बताए ।
नैनसिंह महर