Logo
७ भदौ २०८२, शनिबार

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

अक्षरपाटी
२०८२ भदौ १ , आईतबार ०२:०८ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज भदौ १ गते ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

आज सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदूरपश्चिमेलीहरू ओल्के मनाउन स्वदेश फर्कने गर्छन।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ ।

ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, छोरीचेलीहरूलाई घरमा बोलाएर मिठोरमसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ ।

यसैताका ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्छिन् । प्रकृतिमा नयाँ–नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् ।

धुलो धुँवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुनः शस्यश्यामला र कञ्चन बन्छिन् । ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौरा पर्व ।

भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल–सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् ।

तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ । विचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन् । विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पूरा हुँदैन ।

यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् ।