Logo
३ भदौ २०८२, मंगलबार

‘म्याङ्लुङ बजार’ सावर्जनिक

अक्षरपाटी
२०८२ भदौ १ , आईतबार ०२:०८ मा प्रकाशित

काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन्।

गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन्।

पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ। प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ।

तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल
नौडाँडा काटी आएको हजुरकै माया सम्झेर
आ है बसमा सरर
भेट्न आउँला म्याङ्लुङ बजार
तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि
टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी
आ है बसमा सरर
भेट्न आउनु म्याङ्लुङ बजार

गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।

गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।

‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ।

पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।

लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए।

गीत प्रेम सेन् सुनिता थेगिम