Logo
३ भदौ २०८२, मंगलबार

कैलालीका पाँच पालिकामा भदौ भित्रै भूमिहीनलाई लालपुर्जा

अक्षरपाटी
२०८२ भदौ ३ , मंगलबार ०८:०८ मा प्रकाशित

धनगढी। लामो समयदेखि भूमिहीन र सुकुम्बासीका रुपमा जीवनयापन गर्दै आएका नागरिकलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।

यसअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच पालिकाका भूमिहीन दलित र सुमुम्बासीलाई भदौ मसान्तभित्रै लालपुर्जा वितरणको तयारी गरिएको हो।

भूमि समस्या समाधान आयोग कैलालीका अनुसार भदौ मसान्तभित्र धनगढीसहित पाँच पालिकामा पुर्जा वितरण सुरु हुने भएको हो।

यस चरणमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा लालपुर्जा वितरण गर्ने तयारी भएको आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए।

उनले पहिलो चरणमा जग्गा भोगचलन गरिरहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई प्राथमितामा राखेको बताए ।

उनले भने ‘नापचाँजको काम लगभग सम्पन्न भएको छ । पुर्जा बनाउने र पुनः प्रमाणीकरण गर्ने काम भइरहेको छ। आयोग र स्थानीय तहका कर्मचारी त्यसमा लागेका छन्।’

जिल्लाका सबै पालिकामा आयोगले काम गरिरहेको बताउँदै उनले सीमित कर्मचारी र स्रोत साधनका बीच आयोगले कामलाई तीब्रता दिएको बताए।

बाँकी तीन तीन पालिकामा जग्गा नापजाँचको काम पनि भइरहेको बताए।

जिल्लाका १३ वटै पालिकाका १ लाख ४० हजार ३५८ निवेदन दर्ता भएको उनले जानकारी दिए ।

अध्यक्ष उपाध्यायका अनुसार भूमिहीन दलितका ७ हजार ६ सय ३१, भूमिहीन सुकुम्बासीका १३ हजार ९ सय १४ र अव्यवस्थित बसोबासीका १ लाख १८ हजार ८ सय १३ निवेदन आयोगमा प्रविष्ट भएका छन्।

भूमि समस्या समाधान आयोग भूमिहीन सुकुम्बासी