भक्तपुर ।भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले देखाएको साहसिक कार्यले लाखौं रुपैयाँ मूल्यका विद्युत् तार चोरी हुनबाट जोगिएको छ । चोरहरूको समूहसँग भिडने क्रममा कुकुर गम्भीर घाइते भए पनि अहिले उपचारपछि स्वास्थ्यमा सुधार हुँदैछ ।
यो घटना भदौ ७ गते मध्यरातको हो । नेपाल विद्युत् प्राधिकरणले राखेका महंगा तार चोरी गर्ने उद्देश्यले चोरहरूको एक समूह रातको समयमा त्यहाँ पुगेका थिए । तार काट्ने तयारी भइरहेको बेला त्यहाँको एक सडक कुकुरले उनीहरूको गतिविधि देख्यो र जोडजोडले भुक्न थाल्यो । त्यसपछि वरपरका अन्य कुकुर पनि भुक्न थाले र स्थानीय बासिन्दा होसमा आए ।
चोरलाई रोक्ने क्रममा कुकुरले निरन्तर झम्टिरह्यो, जसले गर्दा चोरीको प्रयास असफल भयो । तर रिसमा आएका चोरहरूले धारिलो हतियार प्रयोग गरेर कुकुरलाई आक्रमण गरे । आक्रमणबाट नशामा चोट लागेर रगत बगे पनि स्थानीयको सक्रियता र पशु कल्याणकारी संस्था टीएफसी नेपालको तत्काल उद्धारका कारण कुकुरको ज्यान जोगियो ।
टीएफसी नेपालका सञ्चालक तुलाराम राजवंशीका अनुसार, ‘कुकुरको चोट गम्भीर देखिए पनि समयमै उपचार सम्भव भयो । अहिले यसको स्वास्थ्यमा सुधार भइरहेको छ र हामी नियमित फलोअपमार्फत् अवस्था निगरानी गरिरहेका छौं ।’
स्थानीय बासिन्दाहरूले कुकुरलाई ‘नायक’ भन्दै प्रशंसा गरेका छन् र यसको हेरचाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यो घटनाले सडक कुकुरको सामुदायिक सुरक्षामा रहेको महत्त्वलाई उजागर गरेको छ ।
राजवंशी भन्छन्, ‘सडक कुकुरलाई प्रायः उपेक्षा गरिन्छ, तर लोकन्थलीको यस घटनाले उनीहरूको साहस र योगदान कस्तो महत्त्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरिदिएको छ । समुदायले यदि सडक कुकुरको स्वास्थ्य, खोप र बन्ध्याकरणमा ध्यान दिने हो भने उनीहरूको जीवनस्तर मात्र सुधार हुँदैन, समाजको सुरक्षामा पनि ठूलो योगदान पुग्छ ।’
लोकन्थलीको यो घटनाले सडक कुकुरहरू केवल ‘सडक’ का मात्र नभई समुदायकै सुरक्षामा खटिने ‘सुरक्षागार्ड’ भएको स्पष्ट पारेको छ ।
स्थानीयवासीले अब यस्ता कुकुरहरूको हेरचाहमा जिम्मेवारीपूर्वक हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।
सडक कुकुर