काठमाडौं । उखु किसानहरूले थालेको आन्दोलनलाई समर्थन जनाउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार माइतीघर मण्डलामा पुगेर किसानसँगै सहभागी भएका छन् ।
सरकारले विगतमा तोकेको अनुदान कटौती गर्ने निर्णय लिएपछि आइतबारदेखि काठमाडौंमा प्रदर्शनमा उत्रिएका किसानसँग दुवै नेता सडकमा नै बस्दै ऐक्यबद्धता प्रकट गरेका हुन् ।
यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि किसानको आन्दोलनमा समर्थन जनाएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार आन्दोलनस्थलमै पुगेर किसानका माग जायज भएको बताए । उनले बजेट अभाव देखाउँदै किसानको अधिकार कटौती गर्नु अन्यायपूर्ण भएको उल्लेख गर्दै सरकारलाई माग पूरा गर्न आग्रह गरे ।
सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिने घोषणा गरेको अनुदान कटौती गरी ३५ रुपैयाँ मात्र कायम गरेपछि किसान आन्दोलित भएका हुन् । किसानहरूले साविककै दरअनुसार अनुदान वितरण गर्नुपर्ने माग राखेका छन् ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट काठमाडौं आएका किसानहरू उखु बोकेर नाराबाजी गर्दै प्रदर्शनमा सहभागी भइरहेका छन् । आन्दोलन उखु उत्पादक महासंघको नेतृत्वमा माइतीघर मण्डला र नयाँ बानेश्वर क्षेत्रमा जारी छ ।
उखु किसानको आन्दोलनलाई समर्थन गर्दै नारायणकाजी श्रेष्ठ बाबुराम भट्टराई माधव नेपाल