नेपालगन्ज। मरियम फाउण्डेशनले नेपालगन्ज उपमहानगरपालिका १२ मा रहेको बागेश्वरी आधारभूत विद्यालय र गणेशपुर चोकस्थित हाजी भोला चोकमा विद्यार्थीलाई कपडा वितरण गरेको छ ।
दुबै स्थानमा गरि ८० भन्दा बढी छात्रालाई कपडा वितरण गरेको फाउण्डेशनका सल्लाहकार दिनेश ठाकुरले जानकारी दिए।
फाउण्डेशनले नेपालगन्ज ४ स्थित लालीगुराँस फेन्सी वेयरको संयोजनमा छात्रालाई पोशाक वितरण गरेको हो।
मोहम्मद डेको अवसरमा अल्पसंख्यक समुदायका स–साना छात्रालाई संस्थाले सहयोग गरेको मरियम फाउण्डेशन काठमाडौंका अध्यक्ष समीर अन्सारीले बताए।
बागेश्वरी आधारभूत विद्यालयमा मरियम फाउण्डेशनकी अध्यक्ष रुबिनी अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सराफत हुसेन खान थिए।
चिडिमार समाजका अध्यक्ष रामु चिडिमारले सञ्चालन गरेको कार्यक्रममा लालीगुराँस फेन्सी वेयरका अन्वर आलम, गोकुल चिडिमार, छात्रा, छात्राका अभिभावक लगायतको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरुले छात्राहरुको शिक्षाको महत्व, नियमित विद्यालयमा उपस्थिति हुनुपर्ने आवश्यकता औल्याएका थिए। त्यसका लागि सबैले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो।