Logo
२३ भदौ २०८२, सोमबार

माइतीघरदेखि देशभर जेन-जीको भव्य र सालिन प्रदर्शन

अक्षरपाटी
२०८२ भदौ २३ , सोमबार ११:०९ मा प्रकाशित

काठमाडौं। देशमा बढ्दै गएको भ्रष्टाचार, कुरिती र सरकारले समामाजिक सञ्जालमा गरेको प्रतिबन्धपछि जेन जी पुस्ताले आन्दोलन छेँडेको छ।

आजबाट सुरु भएको आन्दोलन देशैभर स्वतस्फुर्त बन्दै गएको छ। काठमाडौंको माइतीघरमा जेन जी पुस्ताको भीड उर्लँदो छ। बुटबल, धनगढी, नेपालगञ्जदेखि पूर्वी नेपालका हरेक शहरमा विरोध सुरु भएको छ।

उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन्।

निकै सचेत, शान्त र शालिन रुपमा प्रस्तुत भएका जेन जीले आफ्नो आन्दोलनमा घुसपैठ हुनेमा उनीहरु सचेत देखिन्छन्। प्रहरीले पनि यो आन्दोलनलाई संयमतापूर्वक हेरिरहेको देखिन्छ।

तस्विर : Routine of Nepal banda

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाए, बजाएर विरोध जनाइरहेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्डसहित जेन जी स्कुल–कलेजको ड्रेसमा देखिएका छन्।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘कता हिंडेको ट्याक्स लुटेर?’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, लगायतका नारा लेखेका प्लेकार्ड उनीहरुले बोकेका छन्।

प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।

जेन जीका समर्थकहरुले पानी वितरण गरेका दृश्य समेत देखिएका छन्।

तस्बिर : समाजिक सञ्जाल

जेनजी पुस्ता प्रदर्शन