प्रिय जेनजी,
परिवर्तनका वाहक । यो देशका भविश्यहरु ।
साेमबार अर्थात भदौ २३ मा सुरु भएको जेनजी आन्दोलनमा आततायी, असहिष्णु, भ्रष्ट र दम्भी सोचले ग्रस्त सरकार नेतृत्वले दमन मात्र गरेन । लोकतन्त्रको खोल ओढेर आफ्नै पार्टीभित्र पनि निरंकुशतापूर्वक रँजाइ गरिरहेको नेतृत्वका कारण तपाईँहरुजस्ता नवीन सोचसहित देशको भविश्य बोकेका कलिला मुनाको जीवन निमोठिदियो ।
तपाईँहरुले उठाएको भ्रष्ट र कुशासनविरुद्धको सवाल जायज थियो, त्यो भाषा बुझेनन्, दमनमा उत्रिए ।
आज त्यही आक्रोसको आगो देशका हरेक कुनामा पुग्यो र त्यही लप्कामा धेरैको दम्भ, घमन्ड र शक्ति खाग भयो ।
आन्दोलनको लप्काले नछोएको कुनै यस्तो ठाउँ रहेन, जहाँ हिँजोको आक्रोस नपोखिएको होस् ।
यहाँहरुले उठाएको नेताका शाखा-सन्तान र आसेपासेको शाही ठाँटको स्राेतको सवाल ठिक थियो, उनीहरुले गलत देखे । तपाईँहरुले मागेको मौलिक स्वतन्त्रताको मुद्दा सही थियो, उनीहरुले मुख थुन्न खोजे ।
जसको परिणाम जसरी हिँजो क्षणभरमै १९ जना छोराछोरी पुस्ताका भोलिका सम्भावना चुँडालिए, आज क्षणभरमै त्यो हुकुमी आदेश दिनेहरुको उठिबास भयाे । दम्भी नेतृत्वले एक रात नबित्दै राजपाठ छोडेर कुलेलाम ठाेक्नुपर्याे ।
अर्थात असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । देशको सुरक्षा संयन्त्रले पनि यहाँहरुको आँट, साहस र परिवर्तनको चाहनालाई स्वीकारिसकेको छ ।
जसको परिणामा सेनापति, शसस्त्र प्रहरी प्रमुख, प्रहरी प्रमुख, मुख्य सचिव, गृह सचिवदेखि अनुसन्धान विभाग प्रमुखसम्मले वार्ताको बाटो रोज्न अपिल गरिसकेका छन् ।
यहाँहरुकै अदम्य साहसका कारण आज वर्षौँदेखि शासनको आडमा देशमा ब्रह्मलुट मच्चाइरहेकाहरु घुँटा टेक्न विवस भएका छन् । कैयौँलाई यहाँहरुले आफ्नै हातले थप्पड लगाउने अवस्था बन्न पुग्यो । योभन्दा ठूलो सजाय उनीहरुका लागि अरु के हुनसक्छ । आफ्नै नातीनातिना पुस्ताकाे हातबाट थप्पड खानुजस्ताे घाेर अपमान उनीहरुका लागि के हुनसक्छ ?
आन्दोलन र आक्रोसको माहोलमा आक्रोस नै हो पोखिने, भजन गाइँदैन । पीडाको बेला आँशु नै हो बन्ने हासो फुर्दैन । हो, त्यसैको परिणाम केही संरचना जले, केही भौतिक सम्पत्ति क्षति भयो । जे भयो भयो ।
अब एक विनम्र अपिल छ, यहाँहरु हामीभन्दा स्मार्ट पुस्ता हो । हामीभन्दा धेरै जान्ने र छान्ने पुस्ता हो । तर अब परचक्रिहरुको जोखिमप्रति पनि सचेत हुन उत्तिकै जरुरी छ । अनि जुन क्रुर प्रवृत्तिका विरुद्ध हामी बाल्यौँ, हामीले उच्च मानवीयता प्रदर्शन गर्न जरुरी छ ।
गल्ती गरे, बिगारे पनि अग्रज पुस्तामध्येका केहीले आजको व्यवस्था ल्याउन गरेको योगदानको कदर गर्दै उनीहरुप्रतिको मानवीय संवेदनामा हामीले चुक गर्नुहुँदैन ।
किनकि आज यति ठूलो विरोध गर्ने व्यवस्था ल्याउ कतै न कतै उनीहरु मध्ये केहीको योगदान थियो र त्यस योगदानको मात्रै भए पनि सम्मान गरिदिउँ ।
चोटपटकले ग्रष्थहरुलाई अस्पतालसम्म पुर्याएर उम्दो पुस्ताको उच्च पहिचान दिन विनम्रतापूर्वक अपिल गर्दछु ।
हो यहाँहरुको अदम्य साहसको जति प्रसंशा गरे पनि कमै होला, तर अब उत्तिकै सचेत हुन पनि जरुरी छ ।
लातका भूत वात से नही मानता भने झैँ- यहाँहरुले आन्दोलनका क्रममा चाल्नैपर्ने केही कदम, स्वभाविक थिए होला, तर त्यही मेलोमा फाइदा उठाउनेहरुले हाम्रा राष्ट्रिय सम्पत्ति नाश गरेर हामीलाई थप कंगाल बनाउने, वा हाम्रा अड्डा, अदालत, प्रशासनमा सुरक्षित कागजात नाशेर प्रमाण मेटाउने कुनियतपूर्ण घुसपैठ हुनसक्नेतर्फ पनि सचेत बन्नैपर्छ।
जेल अपराधिलाई थुन्ने थलो हो । तर जेलमा रहेका सबै अपराधि पनि हुँदैनन्, त्यस्ताको खोजीनीति भोलि यहाँहरुको नेतृत्वले गरेर न्याय देला । तर आन्दोलनकै आडमा घुसपैठ गरेर कसैले जेलै भत्काएर साँच्चैको कुख्यात अपराधि त उम्काउँदै छैन ? यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
यहाँहरुले छातीमा गोली थापेर देखाएको त्याग र समर्पणका अगाडि भ्रष्ट, दम्भी, क्रुर मनोविज्ञानका असहिष्णु शासकले हात उठाइसकेका छन् ।
देश अब यहाँहरु र यहाँहरुले चाहेको नेतृत्वको काँधमा आएको पक्का हो । त्यसका लागि अब नागरिकतहमा निस्कलंक, नागरिकले रुचाएका, आफ्नो पेशा र क्षेत्रमा प्रख्याती कमाएकाहरुलाई समेटेर एक शक्तिशाली सरकार निर्माणमा जुटौँ । जसले आज लखेटिएकाहरुले जस्ताे गल्तीकाे कल्पना पनि नगराेस ।
जुन सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको कदर गर्दै अबिलम्ब निर्वाचन गरेर चुस्त र ताजा जनादेशको नेतृत्व छानोस । अनि सुरु गरोस देशमा जेनजीको चाहना र अग्रजहरुको सम्मानसहितको शुसासन । शुभकामना ।