काठमाडौं। जेनजी आन्दोलनले परिवर्तित अवस्थामा देश नयाँ मोडमा छ। व्याप्त भ्रष्टाचार, अनियमितता, नागरिकको मौलिक अधिकारमाथि पनि खेलाँची भएपछि जेनजी पुस्ताले आन्दोलन गरेको थियो।
आन्दोलनको आवाज सुन्नुको साँटो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र गृहमन्त्री रमेश लेखकले आन्दोलनको आवाज नै दबाउन स्कुले विद्यार्थीमाथि गोली दागे।
त्यसको परिणाम भदौ २४ मा देशमा अकल्पनीय विद्रोह देखियो। परिवर्तित अवस्थाले संसद विघटन भयो। अन्तरिम सरकार गठन भयो र त्यसको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भइन।
उनले आफ्नो मन्त्रिमण्डलमा बेदाग र स्वतन्त्र व्यक्ति चयन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन्। प्रथम महिला प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।
पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख हुन। करिब अढाइ दशकदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाएकी हुन्। यसै अन्तर्गत उनले विषयगत क्षेत्रका दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।
जगदीश खरेल