Logo
२७ असोज २०८२, सोमबार

जेन–जी आन्दोलनमा प्रहरीसँग भिड्ने यमबहादुर कँडेल आफ्नै आमाको हत्या आरोपमा पक्राउ

अक्षरपाटी
२०८२ असोज २० , सोमबार ०३:१० मा प्रकाशित

काठमाडौं । ‘सर, मेरो आँखामा डर छ ? कतै जान्नँ, गोली ठोक्नुहोस्, मेरो आँखामा एक इन्च डर छ सर ? के गर्न सक्नुहुन्छ ? गोली ठोक्ने हो ? मार्ने भए मार्नुहोस् । यो देशको बारेमा सोच्नै परेन, मेरो आत्मा भगवानले लैजानुहुन्छ । जिउँदो भए भने त देश चिन्ताले सताइरहन्छ मरेको भन्दा । सुत्न सक्दिनँ चैनले । म वान मेन आर्मी हो । भारतीय दलाल, अमेरिकी पुँजीवादी दलाल र देशका दलालसँग एक्लै लड्न सक्ने क्षमता छ मसँग । त्यसैले, तपाईंहरू पनि बेलैमा सोच्नुहोस् देशका लागि ।’

जेन–जी आन्दोलनका क्रममा सडकमा प्रहरीसँग एक युवाले भनेका यी शब्दहरू भाइरल भएका थिए। ती युवा हुन् धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१० थापाकठेरीका ३० वर्षीय यमबहादुर कँडेल। आन्दोलनमा निडर भएर बोलेका कारण चर्चामा आएका कँडेल अहिले भने फरक कारणले समाचार बनेका छन्।

प्रहरीका अनुसार उनले आइतबार राति साढे १० बजे आफ्नी ५५ वर्षीया आमा रामामाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। घटनाबारे छिमेकीले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। कँडेललाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। रामामायाको शव भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको छ।

प्रहरीका अनुसार कँडेलविरुद्ध यसअघि पनि चारवटा मुद्दा दर्ता थिए। लागुऔषध सेवन, अभद्र व्यवहार र ज्यान मार्ने कसुरसम्बन्धी मुद्दामा उनी पटक–पटक जेल सजाय भोगिसकेका थिए।

स्थानीयका अनुसार दसैँ मनाउन काठमाडौँबाट घर फर्किएका कँडेलले राति आमालाई तल बोलाएर खुँडा प्रहार गरेका थिए। आक्रमणपछि उनले साथमा रहेका भाञ्जा र बाबुमा पनि झम्टिएका तर भाञ्जा भागेर ज्यान जोगाएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।