Logo
११ कात्तिक २०८२, सोमबार

गृहको बढुवा तयारी : ५ एसपी एसएसपी बन्ने दौडमा, १७ दाबेदार

अक्षरपाटी
२०८२ कात्तिक ११ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले आइतबार पाँच जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेपछि अब पाँच जना एसपीलाई एसएसपी बढुवा गर्ने तयारी भएको छ । यसपटकको बढुवामा अघिल्लो पटक छुटेकासहित ११४ टोलीका अधिकारीहरू मुख्य दाबेदार बनेका छन् ।

पाँच रिक्त पदका लागि १७ जना एसपी प्रतिस्पर्धामा छन् । तीमध्ये विमल बस्नेत वरियताको पहिलो नम्बरमा रहेका छन् । उनी गत साउन ५ गते ११ जना एसएसपी सिफारिस हुँदा छुटेका थिए । त्यसपछि उनी अमेरिका भ्रमणमा रहेर उतैबाट गृह मन्त्रालयमा उजुरी गरेका थिए, तर उजुरी बदर गरिएको थियो ।

‘नमस्ते टोली’ भनिने राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते भर्ना भएका बस्नेतका अधिकांश ब्याचमेटहरू एआईजी र डीआईजी भइसकेका छन् । सुर्खेत ट्राफिक प्रमुख हुँदा आर्थिक हिनामिनाको विषयमा चार वर्ष बढुवा रोक्कामा परेका उनी अब एसएसपी बन्ने लाइनमा पुगेका हुन् ।

दोस्रो नम्बरका दाबेदार रामप्रकाश शाह हुन्, जसले २०५५ भदौ २२ मा अनुसन्धान विभागमा भर्ना भई २०६७ पुस २३ मा डीएसपी बनेका थिए । तेस्रो नम्बरमा भुवनेश्वर तिवारी, चौथोमा ऋषिराम कँडेल र त्यसपछि क्रमशः सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट र सुवासचन्द्र बोहोरा छन् ।

बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाही पनि प्रतिस्पर्धीको सूचीमा छन् ।

यसअघि २०८१ माघमा भएको बढुवामा ११४ टोलीका रमेश थापासहितका एसपी एसएसपी बनेका थिए । हाल उपत्यकाका विभिन्न इकाइमा कार्यरत ती एसएसपीमध्ये रमेश थापा काठमाडौं प्रहरी प्रमुख छन् भने अन्य एसएसपीहरू पनि महत्वपूर्ण जिम्मेवारीमा छन् ।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन र कमाण्ड कन्ट्रोलका कारण चर्चित रहेका अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, बासुदेव खतिवडा, सुवासचन्द्र बोहरा, प्रजित केसी, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे र वीरेन्द्रबहादुर बस्नेतजस्ता अधिकारीहरू पनि दाबेदार छन् । तर, वरियताका आधारमा बढुवा हुने प्रणालीका कारण उनीहरूको सम्भावना यसपटक न्यून देखिएको छ ।