धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटका २७ वर्षीया शिक्षिका जानकी खड्काको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा जिल्ला शिक्षा तथा समन्वय इकाइका विद्यालय निरीक्षक ९विनि० गणेश रावललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी दीपेन्द्र पालका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा रावललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।
शिक्षिका खड्का सोमबार दिउँसो घरबाट करिब ७ सय मिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी सोमबार दिउँसोदेखि सम्पर्कविहीन बनेकी थिइन्।
प्रहरीका अनुसार २८ वर्षीय रावल, शिखर नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। प्रारम्भिक अनुसन्धानमा जानकी र रावलबीच फेसबुकमार्फत् चिनजान भएको र पछिल्ला दिनमा उनीहरूबीच सम्बन्धमा तनाव देखा परेको खुलेको छ।
डीएसपी पालका अनुसार, “रावलले मृतकलाई विभिन्न माध्यमबाट मानसिक दबाब दिइरहेको र त्यसकै परिणामस्वरूप उनले आत्महत्या गरेकी प्रारम्भिक तथ्यले देखाएको छ।”
मृतक जानकी खड्काको कोठाबाट सुसाइड नोट पनि बरामद गरिएको छ। सो नोटमा उनले आफ्नो भाइलाई सम्बोधन गर्दै लेखेकी छन् —“के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो। न मैले उसलाई भेटेकी छु, न देखेकी छु। सबै उसका नाटक हुन् मलाई फसाउने।”
सुसाइड नोटमा जानकीले थप लेखेकी छिन् —“बाबाआमाको इज्जत गुमाएर कसैको श्रीमान्, बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ।”
त्यसैगरी उनले भाइलाई बिरामी आमाबुबाको हेरचाह गर्न, इज्जत गुम्ने काम नगर्न र आफ्नो “अफिसर बन्ने सपना” पूरा गर्न आग्रह गरेकी छन्।
परिवारका अनुसार जानकी परिवारकी जेठी सन्तान थिइन् र दुई वर्षअघि स्थायी रूपमा शिक्षक सेवामा प्रवेश गरेकी थिइन्। उनका भाइ प्रदीप खड्काका अनुसार, “हामी मध्यम वर्गीय परिवारका हौं। दिदीकै कमाइले घर चल्थ्यो। अब परिवारको खम्बा ढल्यो, दोषीलाई कडा कारबाही गर्नुपर्छ।”
प्रहरी अनुसन्धानले रावल विवाहित र एक सन्तानका पिता भएको पुष्टि गरेको छ। उनले पत्नीसँग सम्बन्धविच्छेद गरी जानकीसँग विवाह गर्न दबाब दिइरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी थप प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।




