
पोखरा । भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिंदा र पहिरो खस्दा छियाछिया बनेको छ ।
वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टेरनेटसमेत अवरुद्ध हुन पुगेको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङका बस्तीहरुमा ११र१२ गतेदेखि नै सडक र सञ्चारसम्पर्क विच्छेद हुन पुगेको हो भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र सम्पर्कविच्छेद भएको हो ।
मुस्ताङ प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार त्यहाँका प्रहरी चौकी भने सम्पर्कमा आएका छन् । लामाकाअनुसार छुसाङदेखि माथि आधा दर्जनभन्दा धेरै ठूला ठूला पहिरो खसेका छन् र जेसिबी लगाउने काम थालिएको छ । तर, पूरै पहिरो पन्छाउन अझै केही दिन लाग्ने छ ।
मुस्ताङमा कात्तिक ११ गतेदेखि वर्षासँगै हिमपात हुँदा घुम्न पुगेका थिए । मुस्ताङमा १० दिनमै ४० हजारसम्म पर्यटक घुम्न पुगेका थिए । मोटरसाइकल, आफ्नै गाडी र सार्वजनिक गाडीसमेत चिनियाँ नाका कोरोलासम्मै पुग्ने भएकाले दसैं, तिहारलगत्तै मुस्ताङमा पर्यटक ओइरिए ।
पछिल्लो पटक घुम्न पुगेका पर्यटकले जोखिम र रोमाञ्चकता मिश्रिम अनुभवसमेत गरे । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोही दिनदेखि उपल्लो मुस्ताङलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सूचित गरेको भए पनि धेरै पदयात्रामै थिए ।
कागबेनी, आसपासकै क्षेत्रबाट वर्षासँगै हिमपातका कारण पर्यटक उद्धार गर्नुपर्ने स्थिति सिर्जना भयो । हिमपातसँगै उच्च हिमाली तथा पहाडी क्षेत्रमासमेत सम्पर्क विच्छेद बनेको छ ।
वारागुङ मुक्तिक्षेत्रदेखि माथि वर्षा र हिमपातले पहिरो बगाउने, भृडा-च्यांग्राजस्ता चौपया मर्ने, केही पूर्वाधारमा क्षतिसमेत पुयाएको छ ।
मुस्ताङमा हिमपातले किसानलाई उत्साहित बनाए पनि प्राकृतिक जोखिम पनि सँगै बढाएको भन्दै प्रशासनले सचेत गराइरहेको छ । तर, सोभन्दा अगाडि नै घुम्न अपर मुस्ताङ पुगेका पर्यटक रोकिंदा आफन्त तथा परिवार चिन्तित बनेका हुन् ।
मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनपछि सम्पर्कमा आएका थिए । उपल्लो मुस्ताङ पुगेका साढे पाँच सयभन्दा बढी पर्यटकसँग सम्पर्क विच्छेद हुन सक्ने आँकडा निकालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
उपल्लो मुस्ताङ घुम्न गएकाहरु सम्पर्कमा नआउँदा परिवारले चिन्ता व्यक्त गर्दै फोन गरिरहेको तल्लो मुस्ताङबाट पाहुना लिएर फर्किएका व्यवसायी सुदीप आचार्यले जानकारी दिए ।
मुस्ताङ हिमपात


