
० शंकर खैराली
देशको वागडोर सम्हाल्दै आएका तमामौँ नेताले जनताले दिएको अमूल्य मतको अवमूल्यन मात्रै गरेनन्, आफूअनुकूल दुरुपयोग गरे।
‘देशका लागि गर्छु’ भनेर शक्ति र सत्तामा पुगेका कैयौँले आफू, आफ्ना, आफन्त, आसेपासे र धुपौरे-चम्चेहरुको कल्याणमा केन्द्रित भए। जुन अकर्मन्यताले नेताकै परिभाषा बदलिदियो।
देशमा मौलाएको व्यथिति, भ्रष्टाचार, अनियमितता र अर्कमन्यताको विरुद्ध जेनजी आन्दोलनसम्म भयो।
कैयौँ नेताका स्वार्थ केन्द्रित कर्मले प्राय नेताहरु देशका लागि होइन, आफूकेन्द्रित स्वार्थकै तानवाना बुन्छन् भन्ने मनोवैज्ञानिक छाप अधिकांशमा परेको देखिन्छ।
०००
बुधबार एक युवा राजनीतिज्ञ फरक पहिचानसहित एकाएक प्रस्तुत भए।
मधुर संगीत, कर्णप्रिय स्वर, सुहाउँदो ऐरेन्ज अनि शब्द-शब्दमा मिठास बोकेको अर्थपूर्ण र आशावादी गीत लिएर उदाए नेता नैनसिंह महर।
नेपाली कांग्रेसका युवा नेताका रुपमा चिनिएका महर एक समयका पत्रकार हुन, लेखक र विचारकका रुपमा बेला-बेला प्रस्तुत भइरहे पनि यसपटक भने ‘अब्बल गीतकार’का रुपमा प्रस्तुत भए।
युवाहरुमा देखिएको निराशाले थकित भएर सायद उनको कविआत्मा पग्लियो या जेनजी पुस्ताको परिवर्तनको चाहनाले महरको आत्मा प्रेरित भयाे ? यो उनै जाननु।
तर कवित्वले भरिएको हृदय नेताको जति झुट पक्कै हुँदैन, त्यसैले महरले आफूभित्रको आशा र अठोठ गीतमा लेखे- ‘बन्छ बन्छ- मेरो देश बन्छ।’

मेरो जोस अनि जाँगर भन्छ
मेरो अठोट अनि विश्वास भन्छ
पक्कै बन्छ बन्छ, मेरो देश बन्छ
हरेस खानु हुन्न, पक्कै देश बन्छ।
किशोरावयदेखि नै राजनीतिमा लागेका महर विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय राजनीतिमा छन्, तर मुल नेतृत्वमा छैनन्। मुल नेतृत्वमा पुगेपछिको परिकल्पना उनी गीतमा बोल्छन्-
आफ्नै देशलाई समुन्नत बनाउन मन छ
अधुरा सपना साकार, गराउन मन छ
पक्कै बन्छ बन्छ, मेरो देश बन्छ
अवश्य बन्छ, मेरो देश बन्छ।
‘देशमा केही छैन, यो देश बन्दैन’ भन्दै निराशाको कुम्लो बोकेर आजको युवा पुस्ता मात्र होइन, कैयौँ प्रौढहरु परदेशिँदै छन्। नयाँ पुस्ता विद्रोहको शंखनाद गरिरहेको छ।लोकतन्त्रका ‘ठूला नेता’ र नेतृत्व आफ्नै रोटी सेक्नमा मग्न छ।
गीतकारका रुपमा महर आमचाहनालाई सम्बोधन गर्न चुक्दैनन र त भन्छन्-
पहाडमा चिल्लो बाटो, तराईमा रेल
शिक्षा स्वास्थ्य सबैलाई, सुलभ बाचुन्जेल
जल जमिन जडिबुटी, जवानी र जंगल
सदुपयोग गरौँ सबै, यसै आउँछ मंगल
पक्कै बन्छ बन्छ, मेरो देश बन्छ
हरेस खानु हुन्न, पक्कै देश बन्छ ।
२००७ लालमै प्रजातन्त्रका लागि लडेका नेपालीले कैयौँ उतारचढाव ब्यहोरे। सँधैभरि व्यवस्थाकै लागि लडे, मरे। लड्दालड्दै गणतन्त्रै ल्याए।
तर पनि-
भीरको बाटो हिँड्नुपर्छ, चप्पल समाई गाउँमा हजूर
मार्बलमाथि मलमल कपडा, तिम्ले टेक्ने ठाउँमा हजूर।
अस्पतालमा छैनन डाक्टर, न औषधि मूलाे हजूर
जनताको ज्यानभन्दा, तिम्लाई कुर्सी ठूलो हजुर!
लेखराज गिरीले गीतमा लेखेका दूरगाउँका पीडमा मल्हम कसैले लगाएन।
नेता महरको सर्जक हृदयले भने त्यो भावनालाई महसुस गरेको प्रतित हुन्छ। त्यसैले त उनले पहाडमा चिल्लो बाटो, तराईँमा रेल, सबै जनताको पहुँचमा शिक्षा र स्वास्थ्यको सहंगो र सुलभ पहुँचको कल्पना गरेको छ।
त्यसको उपाए पनि उनले गीतमा उइनेका छन्- जल, जमिन, जडीबुटि, जवानी र जंगलको सदुपयोग।
उनी त्यत्तिमा रोकिँदैनन्। किसानको भाका बोल्छन्। व्यापारी, व्यवसायीको मर्का गीतमा कोर्छन। लोकतन्त्रको सुन्दरता कस्तो हुनुपर्छ भन्ने दिक्षा गीतमार्फत ओकेल्छन्। सम्भवतः नेतृत्वले नसुनेको सत्य यहाँ सुझाउँछन्। र त भन्छन्-
उत्पादनमा जोड बल, व्यवस्थित बजार
जनताकै अधिकार, जनताकै सरकार
हेर दुबई मलेसिया, कतार तिर हेर
साँच्चै सबै लागि परे, लाग्दैन है बेर
पक्कै बन्छ बन्छ, मेरो देश बन्छ
हरेस खानु हुन्न, पक्कै देश बन्छ।
आज देशको पौरख परदेशिएको महरको मनमा पनि काँडा झैँ दुखेको प्रतित गीतले गराउँछ। त्यसैले उनी दुबै, मलेसिया र कतारजस्ता देश, जहाँ नेपालीको पसिना सिँचित भएको छ, त्यता हेरेर सिक्न स्मरण गराउँछन्।
अब नेपाली पाखुराले अरुको देश होइन, आफ्नै देश बनाउने संकल्प गर्न उनी अपिल गर्छन।
खोलौँ देशमै उद्योग धन्दा, दिलाऔँ रोजगार
सरल बनाऔँ जनजीवन, घटाऔँ आर्थिक भार
खेर जाने स्रोत साधन, गरिब पहिचान
यही लगाऔँ मेहनत, पसिना र ज्ञान
अनि बन्छ बन्छ, हाम्रो देश बन्छ
हरेस खानु हुन्न, पक्कै देश बन्छ।
उनकाे याे गीति यात्रामा साथ दिएका छन्- शिक्षा मन्त्री एवं अभियन्ता महावीर पुन, कम्पोजर हरि लम्साल, लोकप्रिय गायक प्रमोद खरेल, महानायक राजेश हमाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला, सर्जक र सर्जन डा. भोला रिजाल, खेल क्षेत्रका अब्बल खेलाडी दीपक विष्ट र जगत टमटा, कलाकार मिस पवी र रवि ओड, कुशल निर्देशक दशरथ सुनार र प्रकाश सुवेदीलगायतले।
aksherpati@gmail.com
गीत नैनसिंह महर


