Logo
२२ मंसीर २०८२, सोमबार

गोवा नाइट क्लब आगलागी : मृत्यु भएका २५ मध्ये चार जना नेपाली पनि

अक्षरपाटी
२०८२ मंसीर २२ , सोमबार ०१:१२ मा प्रकाशित

काठमाडौं। शनिबार मध्यरातमा भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीको पनि ज्यान गएको खुलेको छ।

भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गर्दै अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा मृत्यु भएका २५ मध्ये चार नेपाली भएको जनाएका छन्।

गोवा सरकारले सार्वजनिक गरेको सूची अनुसार मृत्यु हुने नेपालीहरुमा विवेक कटवाल, चुर्णबहादुर पुन, सुदीप र सविन रहेका छन्। तर उनीहरुको ठेगाना भने खुलाइएको छैन।

उनीहरुको शव भने नेपाल पठाउने व्यवस्था मिलाउने पनि गोवा सरकारका अधिकारीहरुले बताएका छन्।

शनिबार मध्यराति क्लबमा नाचगान भइरहेका बेला असावधानीबस आगलागी भएको थियो। आगलागी भएपछि केही जलेर त केही निस्सासिएर मृत्यु भएको पाइएको अधिकारीहरुले जनाएका छन्।

साँघुरो गल्ली भएकाले उद्धारका लागि एम्बुलेन्स र दमकल समेत पुग्न पाएका थिएनन्। क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको अधिकारीहरुले मिडियालाई बताएका छन्।

क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

आगलागी गाेवा नाइट क्लब
यो पनि हेर्नुहोस् : मार्तडी बजारमा आगलागी