Logo
८ माघ २०८२, बिहीबार

वर्षौँदेखि अलपत्र पारिएका सवा १४ अर्ब बराबरका २२ वटा ठेका रद्द

अक्षरपाटी
२०८२ पुस १ , मंगलबार १०:१२ मा प्रकाशित

काठमाडौं । सम्झौता गरेर पनि वर्षौँदेखि काम नगरेर अलपत्र पारिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएका छन्।

ठेक्का तोडिएका आयोजनाहरुको सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ बराबरको रहेको छ।

बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो।

भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ। जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

सोही निर्देशानुसार कार्यालयलहरुले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २१५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन्। समस्याग्रस्तमध्ये हालसम्म २२ वटाको ठेका सम्झौता तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए।

सिँचाइतर्फको सबैभन्दा ठूलो राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेका पनि तोडिएको छ।

आयोजनाको बाँध, विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो। यो मात्रै १४ अर्ब ८ करोड माथिको ठेका थियो।