Logo
३ पुस २०८२, बिहीबार

पछिल्लो तीन महिनामा १० प्रतिशतले बढ्यो राजश्व

अक्षरपाटी
२०८२ पुस ३ , बिहीबार ०३:१२ मा प्रकाशित

काठमाडौं। जेनजी आन्दोलनपछि गठन भएको सरकारको तीन महिनाको कार्यकालमा राजश्व वृद्धि भएको बताइएको छ।

गोरखापत्र दैखिकले बिहीबार आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब १० प्रतिशत कर एवम राजश्व वृद्धि भएको बताएका हुन्।

अर्थमन्त्री खनालले आर्थिक गतिविधि लयमा फर्किँदै गएको समते बताए। उनले असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको जानकारी दिए।

‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ’, उनले भने, ‘यि सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भएपनि असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतले वृद्धि भएको देखिन्छ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए।

जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा समेत कुनै प्रभाव नपरेको उनले बताए। पर्यटकको संख्या पनि बढ्दै गएको उनको भनाइ छ।

जेनजी आन्दोलनताका आन्दोलनकारीले पर्यटकको गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाएको घटनाले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा आन्दोलनले नकारात्मक प्रभाव मेटेको जानकारहरु बताउँछन्।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन्।

‘सरकारले ठूलो खर्च गर्न आँट गरोस । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौँ। उर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं। यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ। त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौं’ उनले भने।

अर्थमन्त्री रामेश्वर खनाल