
धनगढी। विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पताल प्रालि धनगढीले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि विशेष मेडिटेसन कार्यक्रम आयोजना गरेको छ। कर्मचारीहरूको शारीरिक, मानसिक तथा संवेगात्मक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अस्पतालले यो कार्यक्रम सञ्चालन गरेको हो।
अस्पताल परिसरमै आयोजित कार्यक्रममा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दैनिक कार्यव्यस्तताका कारण उत्पन्न हुने तनाव कम गर्न, मानसिक शान्ति प्राप्त गर्न तथा सकारात्मक ऊर्जा प्रवाह गर्न मेडिटेसन प्रभावकारी हुने विश्वाससहित कार्यक्रम सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले ध्यानले कार्यक्षमता बढाउनुका साथै व्यक्तिगत जीवनमा शान्ति र सन्तुलन कायम गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता स्वास्थ्य प्रवर्द्धनमूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले कर्मचारीहरूमा मानसिक ताजगी, एकाग्रता र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।



