
० अक्षरपाटी विशेष
विक्रम संवत २०५५ पछिका केही वर्ष। सुदूरपश्चिम, अझ विशेषगरि धनगढीमा हुने हरेक साहित्यिक कार्यक्रमहरु त्यस्ता थिएनन्, जहाँ गजलकार टी एन जोशीको नाम नहोस्।
धनगढीमा गजल लेख्ने र मञ्चमा वाचन गर्ने एक, दुई, तीन नाममा उनको नाम सोह्रै आना समावेश हुन्थ्यो।
जिन्दगी एउटा फूल रैछ
बिना मच्छरको झूल रैछ
माया ममता र प्यार सबै थोक दिएँ
यो सब मेरै कर्मको भूल रैछ
जस्ता ‘रसिक’ जनराका गजल लेख्ने जोशीलाई उनका समकक्षीहरु भन्थे- ‘प्रेमिल गजलकार’।
जोशीको परिचय यत्तिमा सिमित भएन्, स्थानीय पत्रपत्रिकाका सम्पादकदेखि रेडियो नेपालको संवाददाताका रुपमा उनको आवाज देशैभर सुनिन्थ्यो।

‘गौरा पर्वको पौराणिक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका डा जोशी हाल सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको उपकुलपति छन्। डोटेली सँस्कृतिका अध्ययता उनी पेशाले प्राध्यापक पनि हुन्।
यो सबै गर्न उनको जीवनमा अध्यनको कति महत्व रह्यो त ?
‘आज जहाँ छु र जे छु यो अध्ययनकै देन हो’ भन्न रुचाउने जोशीले भने- ‘पुस्तक अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ। अध्ययनले मेरो सामाजिक होस् वा प्राज्ञिक जीवनमा ठूलो भूमिका खेलेको छ।’
सुदूरपश्चिमकै पुरानो र ऐतिहासिक कैलाली जनपुस्तकालयमा २०७५ देखि २०८२ सम्म दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेका उनी त्यही पुस्तकालयको सम्पर्कमा आएपछि पाठ्यक्रम बाहिरको पुस्तक पढ्न अभ्यस्थ भएको सुनाउँछन्।
बालकालैदेखि जिज्ञासु स्वभाबको भए पनि डोटी पूर्वीचौकी-६ गाँजरीमा विद्यालय शिक्षा पूरा गरेपछि मात्रै उनले बाहिरी किताब देख्न र पढ्न थालेको सुनाए।
‘म कलेज अध्ययनका लागि पहाडबाट तराईं झरें। तेतिखेरदेखि नै मैले पाठ्यक्रमबाहेक अन्य साहित्यिक र ऐतिहासिक पुस्तक पढ्न थालेको हुँ’, उनले भने, ‘कैलाली बहुमुखी क्याम्पसको अध्ययन र कैलाली जनपुस्तकालसँगको सम्पर्कले मलाई विक्रम संवत २०५१-५२ देखि अध्ययनमा प्रेरित गरेको हो।’

२०३४ सालमा पिता स्व केशबराज जोशी र माता महेश्वरी जोशीका चार छाेरामध्ये माहिला सन्तानका रुपमा जन्मिएका उनले लामो समय पत्रकारिता र अध्यापनमा विताएका छन्।
हाल धनगढी २ सन्तोषिटोलमा बसोबास गर्दै आएका जोशी नेपाल प्रेस युनियन कैलालीका संस्थापक अध्यक्ष, सुदूरपश्चिमाञ्चल साहित्य समाजको पूर्व उपाध्यक्ष तथा महासचिव समेत हुन्।
प्रायः साहित्यिक, सांस्कृतिक र प्रेरणादायी कुनै महान ब्यक्तिका जीवनी अध्ययन गर्न रुचाउने जोशीलाई त्यही पढ्ने बानीले १८ वर्ष धनगढीका बिभिन्न कलेजमा नेपाली साहित्य र पत्रकारिता विषय प्राध्यापन गराउन निकै सहज भएको अनुभूति सुनाउँछन्।
गजल, कविता र सुदूरपश्चिमको संस्कृति कृति प्रकाशन गरेका जोशी फुर्सदको समयमा पढ्ने बानी रहेको सुनाउँछन्।
२०७० सालमा राष्ट्रिय शिक्षा पुरस्कार, २०७८ मा राष्ट्रिय प्रतिभा पुरस्कार र देवकान्त लोक साहित्य पुरस्कारलगायत ३ दर्जनजति सम्मान र पुरस्कार पाइसकेका उनी किताब पढ्दा आफूलाई आनन्द प्राप्ति हुने सुनाउँछन्।
पुस्तक अध्ययनले ज्ञानको दायरा फराकिलो हुने र यसले हरेक ब्यक्तिमा परिपक्वता र आत्मविश्वास बढाउने ठोकुवा गर्छन। पुस्तक अध्ययनकै कारण आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनी स्वीकार्छन।
तर पछिल्लो पुस्ता पुस्तक अध्ययनभन्दा नेट, इन्टरनेटको दुनियामा बढी समय बिताउँछ र जानकार पनि छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तक अध्ययनतर्फ समाजको ध्यान कम हुँदै गएको उनी पनि महसुस गर्छन। तर उनी भने छापामाध्यमको समयका भए पनि समायानुकूल डिजिटल सामग्री पनि अध्ययन गर्ने गरेको सुनाउँछन्।
आजको व्यस्त र डिजिटल जीवनशैलीकाबीच पनि पुस्तक अध्ययन महत्वपूर्ण भएको सुझाव उनी दिन चाहन्छन्।
‘किताब पढ्ने पाठकहरू घट्दै गए पनि अध्ययन आवश्यक छ’, उनी भन्छन्, ‘डिजिटल र इन्टरनेटमा ब्यस्त समाजले गर्दा मानिस असामाजिक बन्दै गएको देखिन्छ। अर्को कुरा सामाजिक सञ्जालको ज्ञान त्यति भरपर्दो हुँदैन। पुस्तक पढ्नु आवश्यक छ।’

आवश्यकताअनुसार पुस्तक पढ्ने बानी भएका उपकुलपति जोशी सभा समारोह, छलफल, गोष्ठी र कक्षामा जाँदा पूर्व तयारीका साथ जाँदा सहज हुने सुनाउँछन्। ‘त्यसका लागि पनि अध्ययन त हुँदै पर्यो। म अध्ययन गरेरै जान्छु।’
अध्ययनका लागि दुईखाले चुनौति भने उनले भोग्ने गरेका छन्। एउटा आफूले खोजेका पुस्तक नभेटिनु, अर्को कोलाहल माहोलमा एकान्त र शान्त वातावरण पाउनै मुस्किल भैदिनु।
तर जसरी पनि अध्ययन गर्ने बानीले विचार विनिमय गर्दा उत्कृष्ठ रुपमा गर्न सकिने र अध्यापनका क्रममा पनि पढेका कुराले बढी सहज हुने उनले महसुस गरेका छन्।
मानिसले सबै विधाका किताब पढेर साध्य नहुने स्वीकार्दै उनी राजनीतिक, धार्मिक, प्रेरणादायी, ऐतिहासिक आदि खालका पुस्तक अध्ययन गर्नुपर्ने सुझाउँछन्।
हरेक मानिससँग दिनमा २४ घन्टा समय हुने भएकोले कम्तिमा दिनको एक घण्टा भए पनि पुस्तक अध्ययन गर्ने बानीका लागि उनी सबैसँग अपिल समेत गर्छन।
त्यो किन त ? भन्छन्, ‘मानिसलाई थप प्रगतिको बाटोमा अगाडि बढाउन, ब्यक्तित्व विकास गर्न र सहज जीवन यापनका लागि अध्ययन जरुरी छ।’
टीएन जोशी


