
धनगढी। सुदूरपश्चिम प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल धनगढीमा निर्माण हुन लागेको छ। आगामी १८ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित होलीडे इन बाइ आईएचजी र धनगढीस्थित क्लब चौलानी लिमिटेडबीच होटल सञ्चालनसम्बन्धी सम्झौता भएको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसी र होलीडे इन बाइ आईएचजी होटल एण्ड रिसोर्टका दक्षिण एसिया प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतासँगै सुदूरपश्चिममा पहिलो अन्तर्राष्ट्रिय चेन अन्तर्गतको पाँचतारे होटल निर्माणको औपचारिक प्रक्रिया अघि बढेको छ।
धनगढीको मुख्य बजार क्षेत्रमा रहेको क्लब चौलानीकै स्थानमा होटल निर्माण भइरहेको छ। होटलका प्रबन्ध निर्देशक मानसिंह साउँदका अनुसार हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। प्रारम्भिक चरणमा ३५ कोठा दुई महिनाभित्र सञ्चालनमा ल्याइने तयारी भए पनि पाँचतारे होटलको सम्पूर्ण सेवा भने १८ महिनापछि सञ्चालनमा आउनेछ।
होटल निर्माणमा कुल २ अर्ब २० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। यसमध्ये ६५ प्रतिशत अर्थात् १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र बाँकी ७७ करोड रुपैयाँ प्रवर्द्धकको लगानी रहने सञ्चालकहरूले जानकारी दिएका छन्।
होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ११५ वटा कोठा रहनेछन्, जसमा ५ वटा प्रिमियम सुइट कोठा समावेश हुनेछन्। करिब १८ हजार ५ सय वर्गफिट क्षेत्रफलमा बन्ने होटलमा क्यासिनो, ७ सय क्षमताको ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेस्टुरेन्ट, अत्याधुनिक फिटनेस सेन्टर तथा बैठक कक्षहरू रहने छन्।



