Logo
९ पुस २०८२, बुधबार

मुगुमा इन्फ्लुएन्जा प्रकोपबाट १७ दिनमा ५ जनाको मृत्यु, दैनिक २०० बिरामी अस्पताल भर्ना

अक्षरपाटी
२०८२ पुस ९ , बुधबार ०७:१२ मा प्रकाशित

मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्दै गएको छ । प्रकोपका कारण १७ दिनभित्र एउटै गाउँका पाँच जनाको मृत्यु भएको छ।

दैनिक २०० सय जना बिरामी अस्पताल भर्ना हुनथालेपछि स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीडा सुधा गौतम समक्ष तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन्।

स्थानीय युवा आशिष देवकोटा नेतृत्वको युवाहरूको समूहले ५० शय्या भएको जिल्ला अस्पतालको कमजोर अवस्था र बढ्दो बिरामीको चापका कारण स्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै आपतकालीन हस्तक्षेप गर्न केन्द्र सरकारलाई अपिल गरेका हुन्।

बिरामीको चाप अस्पतालको क्षमताभन्दा तीन गुणा बढे पनि अस्पतालमा लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएको, चाहिने औषधि तथा मेडिकल उपकरणको चरम अभाव रहेको र अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको अवस्थामा गम्भीर बिरामीको उपचारमा ठूलो समस्या भइरहेको स्थानीयको गुनासो छ।

प्रकोप फैलिएयता राराछायानाथ नगरपालिका–१२, बाम गाउँमा मात्रै पाँच जनाको ज्यान भइसकेको छ। तींमध्ये शिशु तथा साना बालबालिकासमेत रहेका छन्। अवस्था गम्भिर हुँदासमेत केन्द्र सरकारको प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै स्थानीय युवाहरूले असन्तोस व्यक्त गरेका छन्।

युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स तथा प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स–रे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, साथै इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ।

युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला र हैजाको महामारी स्मरण गराउँदै, समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

मुगुमा इन्फ्लुएन्जा प्रकोप