
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच कुपन्डोलमा गोप्य छलफल जारी छ। भेट कुमार व्यञ्जनकारको निवासमा भइरहेको छ, जहाँ दुवै नेता एक्लाएक्लै संवादमा छन्।
छलफलका क्रममा ‘नमिल्दासम्म बाहिर निस्कन नदिने’ भन्दै गेटमै चुकुल लगाएको दाबी हामी नेपाल संस्थाका संस्थापक तथा जेन–जी अभियन्ता सुदन गुरुङले गरेका छन्। “ढोका थुनेर लक लगाएको छु, गेटपाले बसेको छु। सहमति नभएसम्म निस्कन पाउँदैनन्,” गुरुङले बताए।
लामिछानेसँगै रास्वपाका पूर्व सांसद असिम शाह पनि छलफलस्थल कुपन्डोल पुगेका छन्। स्रोतका अनुसार छलफलमा उर्जा मन्त्री कुलमान घिसिङसँग समेत थप संवाद हुन सक्ने संकेत गरिएको छ।
यसअघि केही दिनअघि रवि लामिछाने र बालेन शाहबीच कमलपोखरीमा करिब ६ घण्टा लामो छलफल भएको थियो। तर उक्त भेटमा ठोस प्रस्ताव नआएको भन्दै बालेनले अन्य नेताहरूसँग परामर्श अघि बढाएका थिए। बालेनले लौरो चुनाव चिन्ह बोकेको देश विकास पार्टीमार्फत राजनीतिक यात्रालाई अगाडि बढाउने गृहकार्यसमेत थालेका छन्।
यद्यपि, त्यसअघि रवि लामिछानेसँगको छलफललाई निष्कर्षमा पुर्याउने चाहना बालेनको रहेको बताइन्छ। स्रोतका अनुसार बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री पद सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन्। तर रवि लामिछानेले अहिलेसम्म बालेनलाई प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा प्रस्ताव गरिसकेका छैनन्।
आजको छलफलले दुवै नेता मिलेर अघि बढ्ने कि आ–आफ्नो बाटो रोज्ने भन्ने विषयमा अन्तिम निर्णय आउने निकट स्रोतको दाबी छ।
बालेन शाह रवि लामिछाने


