

० लीला अनमोल
जाडोले आज फेरि
मेरो सासको छेउछाउ
सुई रोपेजस्तो चिसो छोडेको छ
हातभन्दा अघि
मन नै कक्रक्क बनेको बिहान हो यो।
अँध्यारो कुहिरोले आँखाभित्रसम्म छिर्दै
न्यानोपनको भाषा बिर्साइदिएको बेला
म तिम्रो सम्झनालाई ओढ्ने बनाउँछु
ठिहिरोले कापेको यो जीवन ढाक्न।
चुलो निभेको घरजस्तै सुनसान यो समय
तिम्रो आत्मियताको सानो घाम
झ्यालको कुनाबाटै भए पनि
झुल्किन सक्यो भने
यी कापेका औँलाहरूले प्रेमको ताप चिनेका छन्
र चिसोले मात्र होइन एक्लोपनले जमेको मन
बिस्तारै पग्लिन थाल्नेछ ।
म चाहन्छु प्रिय
ठिहिरोले हड्डी काँपोस्
मन जम्न नदिऊँ,
जाडोले शरीर सेकियोस्,
प्रेमले आत्मा।
किनकि
सबैभन्दा गहिरो ठिहिरोमा पनि
तिम्रो एक झिल्को आत्मियताले
पूरै ऋतु बदल्न काफी हुन्छ।




