

कैलाली । बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक आज बिहान भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–१ का २४ वर्षका निसान्त बोहरा, सोही ठाउँका २८ वर्षका भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षका राकेश रावल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा अन्य १५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी डडेल्धुरा अस्पताल लैजाने क्रम जारी रहेको छ। अहिलेसम्म एक जना महिलालाई मात्रै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ।
जिपमा करिब २० जनासम्म सवार रहेको बुझिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्यमा स्थानीय बासिन्दा तथा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




