

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापनको नेतृत्व नछाड्ने अचान सँगै सहमतिमा जाने वार्ता विफल भएको छ ।
महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
महामन्त्रीद्धयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको हो ।
यद्यपि त्यो वार्तामा आफूहरू अपमानित हुनुपरेको महसुस गर्दैै फर्कनु परेको छ । वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि महामन्त्रीद्धय अब विशेष महाधिवेशन प्रतिनिधिहरूको निर्णयका आधारमा अगाडि बढ्ने भन्दै फर्केका छन् ।
वार्तामा देउवाका पक्षबाट डा प्रकाशशरण महत र डा मिनेन्द्र रिजाल लगायतका नेताहरू सहभागी थिए ।
योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो ।
त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो ।
निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
उनले भने, ‘समय थप गरिएको छ अब निरन्तर प्रक्रिया अगाडि बढ्छ ।’
अत्यधिक रुपमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउने क्रम जारी रहेको छ । उनीहरू अब निर्वाचनमा सहभागी भएरै छिनोफोनो गर्ने भनी आक्रोश व्यक्त गरिरहेका छन् ।
लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले भने, ‘त्यसै फर्कने कुरै भएन । महामन्त्रीहरूले आह्वान गरे । ६० प्रतिशत भन्दा बढीले नयाँ नेतृत्व खोजेर आएका छन् । अब नेतृत्व परिवर्तन गरेरै जाने हो । यथास्थितिमा छाड्यो भने त कांग्रेस सकिन्छ ।’
दुई दिनका लागि आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनको समय लम्बिएर आजसम्म पुगेको छ । आजै टुंगोमा पुर्र्याएर जिल्ला जिल्लामा फर्कन महाधिवेशन प्रतिनिधिहरू आतुर देखिएका छन् ।
एक महाधिवेशन प्रतिनिधिले भने, ‘देउवासँग वार्ता गर्नुको अर्थ थिएन । तैपनि गगन–विश्वले प्रयास गरे । केही बात छैन । अब हामीले नयाँ नेतृत्व चयन गर्छौं । असन्तुष्ट पक्षले जहाँ जानुपर्छ जाओस् । कांग्रेस कुनै व्यक्तिको पेबा हैन ।’
विशेष महाधिवेशन



