Logo
३ माघ २०८२, शनिबार

ओली र बालेन्द्र उम्मेदवार बन्ने चर्चाबीच झापा–५ मा नेकपाबाट रञ्जित तामाङ मैदानमा

अक्षरपाटी
२०८२ माघ ३ , शनिबार ११:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ।

झापा–५ बाट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई पार्टीको टिकट दिएका हुन्।

संयोजक दाहालले शनिबार आफ्नै निवासमा बोलाएर तामाङलाई प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएको तामाङले जानकारी दिए।

आफू जन्मिएको, हुर्किएको र राजनीतिक यात्रा सुरु गरेको क्षेत्र भएकाले झापा–५ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिएको तामाङको भनाइ छ।
‘म झापा–५ कै स्थानीय हुँ। यहीँ जन्मिएँ, हुर्किएँ र राजनीतिक यात्रा पनि यहीँबाट सुरु गरेको हुँ,’ तामाङले भने, ‘कतिपयले कमल खोला र रतुवा खोला कहाँ पर्छ भन्ने थाहा नपाउँदै यो क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा भइरहेका बेला पार्टीले स्थानीय युवालाई तारा चुनाव चिह्नमा चुनाव लड्ने जिम्मेवारी दिएको छ।’

झापा–५ मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुने चर्चा चलिरहेको सन्दर्भमा तामाङले आफू युवाको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएको बताए।
‘तीनपटक प्रधानमन्त्री बनेर मुलुकलाई दुर्घटनातर्फ धकेलेका पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्री घोषणा गरिएकाहरू यहाँ आउने कुरा सुनिँदै छ,’ उनले भने, ‘तर हाम्रो पार्टीले भने युवा, स्थानीय र जनतासँग घुलमिल भएको उम्मेदवारलाई अघि सारेको छ।’

स्थानीय विकास, दुःख–सुख र संकटका समयमा जनतासँगै रहेकाले चुनावी अभियान चलाउन आफूलाई सहज हुने तामाङको दाबी छ।

तामाङ हाल अखिल क्रान्तिकारीका अध्यक्ष हुन्। यसअघि उनी तत्कालीन माओवादी केन्द्रको तर्फबाट झापा जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी नेकपाको केन्द्रीय समिति सदस्यसमेत रहेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )