Logo
३ माघ २०८२, शनिबार

संघीय मन्त्रालयका सहसचिवलाई पञ्चेश्वरका अध्यक्षले भने : तपाईंजस्ता भ्रष्टहरुले गर्दा जनताले दुःख पाए, अब ठिक हुँदैन

अक्षरपाटी
२०८२ माघ ३ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं। सुदूरपश्चिमको पहाडी जिल्लाा बैतडीको दुर्गम क्षेत्र पञ्चेश्वर गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज ठप्प भएका छन्।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा यस आर्थिक वर्षका सबै कार्यक्रम ठप्प भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताएका छन्।

भदौमा हाजिर भएको प्रमुख प्रशासकीय अधिकृतलाई दुई महिना नपुग्दै कार्तिकमा सरुवा गरे पनि अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सबै काम ठप्प भएको अध्यक्ष चन्दले गुनासो मात्रै होइन आक्रोस समेत पोखेका छन्।

उनले मन्त्रालयकी सहसचिव पार्वती शर्मालाई यसबारेमा पटकपटक अनुनय गर्दा पनि ‘सुनेको नसुने झैँ’ गरेको गुनासो गर्दै गम्भीर आरोप समेत लगाएका छन्।

सार्वजनिक भएको पत्रमा उनले लेखेका छन्, ‘कर्मचारीहरुले तलबभत्ता खान सकेका छैनन्। शिक्षकहरुको तलब निकाशा हुन सकिरहेको छैन। जनताले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्।’

अध्यक्ष चन्दले सहसचिव शर्मामाथि गम्भीर आरोप लगाउँदै चिट्ठीमा लेखेका छन्, ‘जनताको अधिकारलाई तपाईंहरुजस्ता भ्रष्ट कर्मचारीहरुले गोजीमा लुकाएर राख्नु भएको छ, अस्तिको ‘जेनजी’ आन्दोलनले पुगेन छ!’

सिंहदरबारको घुम्ने कुर्सीमा बसेर अर्ति र उपदेश बाँड्दै हिँड्ने प्रवृतिले जनताले सास्ती पाएको आसय व्यक्त गर्दै अध्यक्ष चन्दले संघीयताका लागि त्यत्रो आन्दोलन भएको, कैयौं मानिसहरुले ज्यान गुमाएर बलिदानी गरेको समेत स्मरण गराएका छन्।

उनले आक्रोसपूर्ण भाषामा भनेका छन्, ‘अर्कोपटक प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं आउनु पर्यो भने पार्वतीलगायत त्यो मन्त्रालयभित्रका भ्रष्टाचारी कर्मचारीहरुले आजैदेखि सोचिराखे हुन्छ।’

यस विषयमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता नीता पोखरेलको अफिसियल नम्बर ९८४१३७६०७७ मा अक्षरपाटीले तीनपटक सम्पकर्क गर्दा फाेन उठ्न सकेन ।

यस्तो छ अध्यक्ष चन्दले सहसचिव पार्वती शर्मालाई लेखेको पत्र

सहसचिवज्यू, नमस्कार !

म पञ्चेश्वर गाउपालिका बैतडीको अध्यक्ष गोरख बहादुर चन्द, तीन महिनादेखि पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैन। तपाईंहरुले भाद्र महिनामा हाजिर भएको प्रमुख प्रशासकीय अधिकृतलाई दुई महिना नपुग्दै कार्तिकमा सरुवा गरिदिनु भयो। त्यो त ठिकै गर्नुभयो तर विकल्प दिएर सरुवा गर्दा पनि हुन्थ्यो । त्यसपछि प्रमुख प्रशासकीयको माग गर्दै म आफैं सिंहदरबार तपाईंहरुको दरबारमा लगातार बिन्ती विसाय तर तपाईंहरुले टालटुले जवाफ दिएर मलाई फर्काइदिनु भयो। हालसम्म पनि प्रमुख प्रशासकीय अधिकृत नभएर यस आर्थिक वर्षका सबै कार्यक्रम ठप्प छन्। कर्मचारीहरुले तलबभत्ता खान सकेका छैनन्। शिक्षकहरुको तलब निकाशा हुन सकिरहेको छैन। सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। तपाईं सिंहदरबारको घुम्ने कुर्सीमा बसेर अर्ति र उपदेश बाँड्दै हिँड्नु भएको होला१ संघीयताका लागि त्यत्रो आन्दोलन भएको थियो। कैयौं मानिसहरुले ज्यान गुमाएर बलिदानी गरेका थिए तर जनताको अधिकारलाई तपाईंहरुजस्ता भ्रष्ट कर्मचारीहरुले गोजीमा लुकाएर राख्नु भएको छ। अस्तिको ‘जेन-जी’ आन्दोलनले तपाईंहरुलाई नपुगे जस्तो छ। अर्को पटक प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं आउनु पर्यो भने तपाईंलगायत त्यो मन्त्रालयभित्रका भ्रष्टाचारी कर्मचारीहरुले आजैदेखि सोचिराखे हुन्छ।

गोरख बहादुर चन्द,
अध्यक्ष, पञ्चेश्वर गाउपालिका, बैतडी

यसअघि पुस ९ गते नै पञ्चेश्वर गाउँपालिकाका शिक्षा अधिकृत महामलसिंह घटालाले पनि प्रमुख प्रशासकीय अधिकृत खटाइ पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए।

उनले आफूलाई निमित्तको जिम्मेवारी लिन गरिएको आग्रह समेत पत्रमार्फतै अस्वीकार गरेका थिए। तर, मन्त्रालयका सहसचिव पार्वती शर्माले भने पञ्चेश्वरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएर जनताको मर्का नबुझेको यी दुई पत्रले देखाउँछ।

शिक्षा अधिकृतले मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्र

(समाचार प्रकाशनपछि प्रवक्ता पोखरेलले अक्षरपार्टीसँग सम्पर्क गरेर भन्नुभयो- तत्कालीन आवश्यकता र कारणलाई हेरेर कर्मचारी सरुवा गरिएको होला, नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयमा प्रक्रिया भइरहेको होला यस विषयमा भने म पूर्ण जानकारी छैन। धेरै कुरा बोल्नका लागि मैले बुझेरै बोल्नुपर्ने हुन्छ।-सम्पादक)

ट्रेन्डिङ ( साप्ताहिक )