

कैलाली । नेपाल मलखाद व्यवसायी सङ्घ, कैलालीको पहिलो साधारण सभा भजनीमा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सभाबाट लोकेश भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा अनुप बम, सचिवमा रामशरण चौधरी र कोषाध्यक्षमा पदम सापकोटा चयन भएका छन्। सदस्यहरूमा हरी न्युरे, रामकृष्ण चौधरी, दिनेश साप्कोटा र प्रकाश थापा रहेका छन्।
कार्यक्रममा वक्ताहरूले मलखाद व्यवसाय कृषिसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले पारदर्शिता, गुणस्तर र समयमै आपूर्तिमा ध्यान दिनुपर्ने बताए। किसानलाई गुणस्तरीय मलखाद उपलब्ध गराउने र कालोबजारी नियन्त्रणमा नयाँ नेतृत्व सक्रिय हुनुपर्नेमा जोड दिइयो।
नवनिर्वाचित अध्यक्ष भट्टले व्यवसायीबीच एकता कायम गर्दै किसानहितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
साधारण सभाका प्रमुख अतिथि भजनी नगरप्रमुख केबल चौधरी रहनुभएको थियो भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।




