Logo
२५ माघ २०८२, आईतबार

घर घर पुग्दै, जन जन सुन्दै ‘आनन्द’

अक्षरपाटी
२०८२ माघ २१ , बुधबार १०:०२ मा प्रकाशित

गौरीगंगा, कैलाली । आसन्न फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदो छ।

निर्वाचन भन्ने वित्तिकै नेता, कार्यकर्ता, गाडी घोडा र लावालस्करको झल्को आउनु स्वभाविक हो। विगतमा हुन्थ्यो, अहिले पनि कतिपय निर्वाचन क्षेत्रमा देखिन्छ पनि।

तर, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’को प्रचारशैली भने अलि फरक छ।

उम्मेदवारी दर्ता गराएर सिधै प्रतिद्वन्दी उम्मेदवारसँग सौहार्द र हार्दिकता साँटेर चुनावी अभियानमा जुटेका उनी, आमसभा, संवोधन, भाषणभन्दा पनि आम भुइँमान्छेका बीचमा देखिने गरेका छन्।

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्दा औपचारिक देखिनुबाहेक उनी स्थानीय नेता, पार्टीका लगनशील कार्यकर्तालाई लिएर जनताको घर घर पुगिरहेका छन्।

उनले भने, ‘आफ्ना कुरा सुनाएर मात्र परिवर्तन सम्भव छैन, अहिले मेरो कोसिस भनेको जनताका कुरा सुन्ने, पीडा सुन्ने, त्यसलाई मनन गर्ने र त्यसैमुताविक भोलि नीति र योजना बनाउने हो।’

उनका अघिपछि लावालस्कर होइन, आवश्यकताका लागि मात्रै साधनहरु प्रयोग हुने गरेका छन्। सहयोगी कार्यकर्ता, सुभेच्छुकका लागि खानपानको व्यवस्था होइन, जनताकै घरदैलोमा उनी जनतासँगै खाने, भलाकुशारी गर्दै हिँडेका देखिने गरेकाे स्थानीय बताउँछन्।

कैलाली क्षेत्र नम्बर ४ कृषि, पर्यटन, पशुपालन, प्राकृतिक स्रोतको अथाह सम्भावना बोकेको क्षेत्र भएर पनि धेरै कुरा सुधार्नुपर्ने अवस्थामा पाएको उनले बताए।

‘म सबैथोक गर्छुभन्ने बाचा गर्दिन, कम्तिमा एउटा नागरिकले सहज रुपमा बाँच्नका लागि आवश्यक पर्ने अवस्थाको सिर्जनाका लागि मेरो संघर्ष जहिले पनि रहनेछ’, उनले भने।

उनी यतिबेला काँग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ बाट समानुपातिक तर्फका यज्ञनिधि कोइरालासहित वडा-वडा तहमा पुगिरहेका छन्।

यस क्रममा उनले गोदावरीका केही बस्ती, अत्तरिया, गौरीगंगाका धेरै बस्ती र वडाहरु चहारी सकेका छन्।

‘मेरो निर्वाचन क्षेत्रमा निकै विकट पहाडी पालिका चुरे पनि छ, जो यस क्षेत्रकै कस्तुरी हो’, उनले भने, ‘जुन क्षेत्र जल, जडिबुटी, पर्यटन, पशुपालन र नगदेबालीका लागि प्रख्यात छ, त्यस क्षेत्रका लागि विशेष योजना बनाउने मेरो अठोट हो।’

उनले कैलालीको चुरे क्षेत्रमा चाँडै उक्लिन लागेको बताए। ‘चुरे क्षेत्र जहिले पनि राज्यको उपेक्षामा परेको मैले पनि बुझेँ, त्यस क्षेत्रका लागि स्थानीय विज्ञ, जानकार, अगुवाहरुको सल्लाहमा योजना बनाउने छु, एक नेताका हैसियतले विशेष नीतिमा मेरो जोड रहने छ।’

डोटीको दुर्गम गाउँमा हुर्किएर विश्वकै सभ्रान्त मुलुक अमेरिकाको अनुवभ र पार्टीको संगठन हाकेको अनुभव भएका आनन्दप्रति स्थानीयको विश्वास बढ्दै गएको छ।

गाैरीगंगा ४ का मतदाता बलरामसिंह धामीले भने, ‘उहाँ संसार बुझेकाे मान्छेजस्ताे लाग्छ, हामीलाई केही सोच र योजना भएको नेता चाहिएको हाे। उहाँको सोच र शैली देख्दा उहाँ त्यहीखालको नेता हाेजस्तो लाग्छ।’

नेपाली कांग्रेसले पनि नयाँ र युवा अनुहारलाई टिकट दिएकोप्रति काँग्रेस एक भएर उनको पक्षमा उभिएको विश्लेषकहरु बताउँछन्।

‘यस क्षेत्रमा काँग्रेस एकढिक्का भएर अघि बढेको छ’, पार्टीका युवा नेता सुरत रावतले भने, ‘नव युवाले पनि भिजनरी युवा खोजेको हो, उहाँमा युवा पनि हो, भिजनरी पनि हो।’

आनन्द विष्ट नेपाली कांग्रेस