



धनगढी । क्रिकेट एकेडेमी (डीसीए) को अन्डर–१६ टोली भारतको मुम्बई भ्रमणमा निस्केको छ। टोली आज मुम्बई प्रस्थान गरेको हो।
मुम्बई टुरका क्रममा डीसीए अन्डर–१६ टोलीले भारतका विभिन्न ६ वटा स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
यससँगै टोलीले मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा आयोजना हुने नेपालसहित विभिन्न देशबीचका टि–२० विश्वकपका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पनि पाउनेछ।
डीसीएका म्यानेजर सन्दीप भट्टका अनुसार यो टुर खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण हुनेछ।
‘मुम्बईका प्रतिस्पर्धी क्लबहरूसँग खेल्दै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट नजिकबाट हेर्ने अवसर पाउनु खेलाडीहरूका लागि ठूलो अनुभव हो,’ उनले बताए।
यस्तै डीसीएका अध्यक्ष सुवाश शाहीले विश्वकप खेलिरहेका खेलाडीहरूलाई नजिकबाट देख्न पाउनु नयाँ पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत हुने बताए।
‘डीसीएबाट खेलेका लोकेश बमजस्ता खेलाडीहरू आज यही स्तरसम्म पुगेका छन्। अहिले खेल जीवन सुरु गरिरहेका यी युवा खेलाडीहरूका लागि मुम्बई टुर ठूलो अवसर हो,’ शाहीले भने।
उक्त मुम्बई टुरका सहयोगी संस्था निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थ पन्तले धनगढी क्रिकेट एकेडेमीले सुदूरपश्चिम, विशेषगरी धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बताए।
‘क्रिकेट क्षेत्रमा डीसीएले गरिरहेको प्रयास सराहनीय छ। खेलकुद विकासका लागि हाम्रो सहयोग सधैँ निरन्तर रहनेछ,’ उनले भने।
मुम्बई टुरले डीसीए अन्डर–१६ टोलीका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने, सिक्ने र आत्मविश्वास बढाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
यसै धनगढी उपमहानगरपालिकाको ग्रासरुट क्रिकेट अभियानबाट उत्पादन भएका चारजना समेत उक्त टोलीमा समावेश छन्।
खेल डीसीए अन्डर–१६



