




सर्लाही, ३० कात्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका छन्।
सभामुख अर्यालले सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्तसँग भेट गरी शोकप्रति समवेदना व्यक्त गरेका हुन्।
भेटका क्रममा उनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।
त्यसैगरी, उनले दुर्घटनामा घाइते भएकाहरूसँग पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सभामुख अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै समस्या हुन नदिन सम्बन्धित पक्षसँग आवश्यक समन्वय गर्ने बताए।
दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता समेत सभामुख अर्यालले व्यक्त गरे।
गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेको थियो।
सडकबाट करिब ७०० मिटर तल खसेको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
दुर्घटनामा एउटै क्षेत्रका धेरै नागरिकले ज्यान गुमाएपछि सर्लाहीमा शोकको वातावरण बनेको थियो। सभामुख अर्यालले पीडित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको पीडा र समस्याबारे जानकारी लिएका हुन्।
डोल प्रसाद (डीपी) अर्याल

