

काठमाडौं । विगत दुई वर्षदेखि इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट लिमिटेडको काराेबार घट्दाे क्रममा देखिएको छ।
लिमिटेडले सन् २०२५ मा करिब २ अर्ब ६९ करोड रुपैयाँको मात्र कारोबार गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशत कम हो।
कम्पनीले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ३६ करोड ४० लाख रुपैयाँकाे काराेबार गरेको थियो। यसरी पछिल्ला दुई वर्षमा कम्पनीको कारोबार निरन्तर घट्दो क्रममा छ।
तर, व्यापारमा गिरावट आए पनि कम्पनीको नाफा मार्जिनमा भने सुधार आएको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन २५.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २३.४ प्रतिशत भन्दा बढी हो।
यस अवधिमा कम्पनीको ऋण तिर्ने क्षमता २.७८ गुणा पुगेको कम्पनीको दाबी छ। याे अघिल्लो वर्षको २.२८ गुणा थियो।
मुख्यतया परियोजना आम्दानी र टिभी सेवा आम्दानीमा कमी आएको कारणले कारोबार घटेको केयर रेटिङको रिपोर्टमा उल्लेख छ।
पीएटी मार्जिन भने १ प्रतिशतभन्दा कम भए पनि कम्पनीको कुल नगद सञ्चिति सन् २०२५ मा ४४ करोड १० लाख रुपैयाँ रहेको छ, जुन सन् २०२४ को ४२ करोड १० लाख रुपैयाँ भन्दा बढी हो।
कम्पनीको कुल ऋणदेखि क्यास फोर्स अनुपात ६.३७ गुणा रहेको छ, जुन अघिल्लो वर्षको ६.६१ गुणा भन्दा कम हो।
सन् २०२५ मा औसत इनभेन्टरी टर्नओभर १२८ दिन र ग्राहकबाट रकम सङ्कलन अवधि १०३ दिन रहेको छ। यसले कम्पनीलाई कार्यशील पूँजीका लागि बैंकिङ सुविधामा निर्भर रहनुपर्ने देखाएको छ।
नेपालमा ६० भन्दा बढी सेवा प्रदायक (आईएसपी) सञ्चालनमा भए पनि धेरै बजार केन्द्रित छन् । शीर्ष २० आईएसपीले ९९.७२ प्रतिशत बजार हिस्सा ओगटेका छन्।
सुबिसुको बजार हिस्सा करिब ८ प्रतिशत मात्र रहेको छ। ठूला प्रदायकहरूले मूल्य प्रतिस्पर्धा गर्न सक्ने भएकाले, नयाँ ग्राहक आर्कषण र विद्यमान ग्राहक कायम राख्न कम्पनीले चुनौतीको सामना गर्नुपरेको छ।
सुबिसु सन् १९९९ मा स्थापना भएको कम्पनी हो। २५ वर्षदेखि नेपालमा इन्टरनेट र डिजिटल टिभी सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले काठमाडौं उपत्यकामा १० शाखा, अन्य जिल्लामा ३१ शाखा र १०५ फ्रेन्चाइजमार्फत सेवा उपलब्ध गराइरहेको छ।
सुबिसु केबल



