

काठमाडौं। पर्साकी आयुषा कापरीले २१ वर्षको उमेरमै पाइलट कोर्स पूरा गरेकी छन्। उनको याे उपलब्धी नेपाली उड्डयन क्षेत्रमा प्रेरणादायी मानिएको छ।
२०६१ साल असारमा वीरगञ्जमा जन्मिएकी आयुषाले हालै अमेरिकाबाट पाइलट प्रशिक्षण सम्पन्न गरेकी हुन्।
कम उमेरमै उड्डयन क्षेत्रमा पाइला राखेकी उनलाई सम्भावित ‘कान्छी पाइलट’का रूपमा हेरिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट औपचारिक लाइसेन्स लिने प्रक्रिया भने बाँकी नै छ।
पोखरामा देखेको पाइलट बन्ने सपना
बाल्यकालमै पोखरा भ्रमणका क्रममा जहाज चढेपछि पाइलट बन्ने सपना देखेकी आयुषाको यो सफलता त्यसै प्राप्त भएको हाेइन। निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासले मात्र उनले याे उपलब्धि हात पारेकी हुन्।
पोखरा भ्रमणका क्रममा पहिलो पटक जहाज चढेपछि उनले जहाज कसरी उड्छ भन्ने जिज्ञासा बुवासँग राखेकी थिइन्। त्यसपछि बुवाले पाइलट पेशाबारे जानकारी गराएपछि उनले आफू पनि पाइलट बन्ने इच्छा व्यक्त गरेकी थिइन्।
त्यही बाल्यकालको सपना अमेरिकामा पाइलट कोर्स पूरा गरेसँगै साकार भएको हो।
सीमित स्रोत, बलियो विश्वास
सामान्य परिवारमा जन्मिएकी आयुषाका बुवा विरेन्द्र कापरी नेपाल आयल निगममा बाउजर अपरेटरका रूपमा कार्यरत छन्। सीमित स्रोत–साधन हुँदाहुँदै पनि छोरीको लक्ष्यप्रतिको आत्मविश्वास र भरोसाले आफूलाई प्रेरित गरेको विरेन्द्र बताउँछन्।
उनका अनुसार आयुषाको यात्रामा मामा उमेश धिमालको मार्गदर्शन र सहयोग महत्वपूर्ण रहेको सम्झन्छिन्।
नेपाली उड्डयनमा महिलाको उपस्थिति
नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) लिने महिलाको संख्या ३१ पुगेको छ। त्यस्तै कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) लिने महिला ६८ जना र सीपीएल हेलिकप्टर लाइसेन्स लिने महिला ४ जना रहेका छन्।
आयुषा कापरी पाइलट



