Logo
३१ वैशाख २०८३, बिहीबार

इंग्ल्याण्डसँग ऐतिहासिक खेलअघि नेपाली टोलीलाई प्रधानमन्त्री कार्कीको शुभकामना

अक्षरपाटी
२०८२ माघ २५ , आईतबार १०:०२ मा प्रकाशित

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा आज इंग्ल्याण्डसँग ऐतिहासिक खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीले मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने उल्लेख गर्दै यो क्षण सिङ्गो देशका लागि गर्वको विषय भएको बताउनुभएको छ । उहाँले कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाली टोलीसँग विश्वभर फैलिएका नेपाली प्रशंसकको साथ र विगतमा हासिल गरेका चमत्कारिक सफलताको बल रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
‘इंग्ल्याण्डसँगको आजको ऐतिहासिक खेलमा सिङ्गो देशको तर्फबाट जीतको शुभकामना,’ उहाँले लेख्नुभएको छ ।

भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको नेपालले समूह चरणमा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता आगामी मार्च ८ (फागुन २४) सम्म सञ्चालन हुनेछ । अहिलेसम्म भारत, इंग्ल्याण्ड र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक–एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन् ।

आईसीसी टी–२० विश्वकप

ट्रेन्डिङ ( साप्ताहिक )