



कैलाली । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहौल निकै तातेको छ।
यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेन्डासहित मत मागि रहेका छन्।
घरदैलो कार्यक्रम अन्तरगत उनले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्नका साथै समस्या समेत सँकलन गरिरहेका छन्।
उनले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन।
उनले भने, ‘जनताको घरदैलोमै पुगेर समस्या सुन्नु नै मेरो पहिलो दायित्व हो। चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । मैले जनतासँग गरेका वाचा पूरा गर्ने छु। म गरेर देखाउने नेता हो।’
यसैगरी उनले धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबिबिएस पढाई सञ्चालन, खुटिया–बिपीनगर–दिपायल–बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडक निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र शिक्षाको विकासलाई आफ्नो मुख्य एजेन्डा बताएका छन् ।
नेता आलेले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
उनले लामो समयदेखि भोग चलन गर्दै आएको आफ्नो जमिनको लालपूर्जा नपाएका कैलाली–५ का जनतालाई लालपूर्जाका लागि आवश्यक पहल गर्ने बताए।
घरदैलो कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर जनताको अवस्था बुझ्दै आएका नेता आलेले स्थानीयवासीले उठाएका जग्गाधनी प्रमाण पुर्जा, खानेपानी, सडक स्तरोन्नति, ढल निकास, स्वास्थ्य सेवा र रोजगारीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जनप्रतिनिधि जनताकै घरमा पुगेर समस्या सुन्नु नै लोकतान्त्रिक अभ्यासको सबल पक्ष भएको उल्लेख गरे।
स्थानीयवासीले गेटा विमानस्थल आसपासका जनताले लालपुर्जा नपाएको, सडकको जिर्ण अवस्था रहेको, बाढीको समयमा हुने जलमग्न समस्या तथा युवाहरूका लागि रोजगारीका अवसर अभावबारे गुनासा राखेका थिए ।
त्यसका साथै टोलमा स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक भवन निर्माण र व्यवस्थित बजार पूर्वाधार निर्माणको मागसमेत गरिएको थियो ।
नेता आलेले ती सबै मागलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विकासका कामलाई तीव्रता दिने बताए।
उनले भने, ‘जनताको घरदैलोमै पुगेर समस्या सुन्नु र समाधानको मार्ग पहिल्याउनु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । यहाँका जनताको समस्याको समाधान गर्न म कुनै कसर बाकी राख्ने छैन । समस्याको समाधान मैले गर्छु।’




