Logo
२६ फागुन २०८२, मंगलबार

भान्साबाट सुरु भएको उद्यम : साथीहरूको सहकार्यमा बजारमा फरक स्वाद

अक्षरपाटी
२०८२ फागुन ८ , शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं । घरमा त्यसै बसेर वा बिनाकाम घुमेर समय खेर फाल्नुभन्दा केही गरेर आर्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्दै गएका छन् रोचना श्रेष्ठ, सन्तोषी राणा र रश्मि गिरी।

लामाे समयदेखिका दाैतरी उनीहरुले घरमा आफैले बनाएर प्रयोग गर्दै आएको ‘टोमेटाे’काे परिकारलाई ‘आरएसआर हट सस’का रुपमा बजारमा ल्याएका हुन्।

‘तीनजना साथी घुमघामका क्रममा थियाैँ, केही त गर्न सकिन्छ भन्ने सल्लाह भयाे’, रश्मिले भनिन्, ‘रोचनाको रेसिपीलाई नै उत्पादनका रुपमा बजारमा ल्याउने कुरामा हामी तीनै जनाको मत मिल्याे।’

पुस २५ गते उनीहरुले जमा गरेको रकमबाट अनि सुरु भयो- ‘आरएसआर हट सस’को उत्पादन।

देशमा आयआर्जनको उपाए नदेखेर विदेशिने क्रम बढेका बेला उनीहरुले देशमै केही गर्न सकिन्छ भन्ने सोचलाई व्यवहारमा उतार्दै टोमेटो प्युरी (सस) उत्पादन सुरु गरेका हुन्।

असल साथीको नाताले सँगै घुम्ने–डुल्ने र खाने–पिउने क्रममा जन्मिएको ‘केही त गर्नुपर्छ’ भन्ने सोच आज सम्भावनायुक्त उद्यममा परिणत हुँदै गएको छ।

स्टलबेस र अनलाइनमार्फत बिक्रीवितरण भइरहेको आरएसआर हट ससको माग दिनदिनै बढ्दै गएको राेचनाले सुनाइन्।

‘रोचनाले घरमै बनाउने गरेको सस सबैलाई मन परेपछि त्यसलाई नै व्यवसाय बनाउने साेचमा हाम्रो कुरा मिल्यो’, सन्ताेषीले भनिन्, ‘त्यसमा केही परिमार्जन गर्याैँ। यसमा टिमुर, नुन र भिनेगरको सन्तुलित मिश्रण गरिएको छ। मुख्य स्वादका रुपमा हामीले खुर्सानीको भुटेको धुलोलाई प्रयोग गरेका छाैँ।’

आरएसआर हट सस बजारमा आएको डेढ महिना नपुग्दै यसको स्वाद र गुणस्तरमा फ्याक्ट्रीको उत्पादनभन्दा कम नभएको प्रतिक्रिया आइरहेको रश्मीले बनाइन्।

उद्यम सुरु गर्न ढिला भएको अनुभूति अहिले उनीहरु तीनै जनालाई लागेको छ। ‘यो त धेरै पहिला सुरु गर्नुपर्ने रहेछ’, रोचनाले भनिन्।

अहिले उनीहरू ससको गुणस्तरलाई अझ स्तरीय बनाउन र यसको बजार प्रवर्धनमा जुटेका छन्। चित्ताकर्षक बोटलिङ र प्याकेजिङमार्फत ससलाई बजारमा प्रस्तुत गरिएको छ।

आरएसआर हट ससको अर्कव विशेषता भनेको याे सस जेसँग पनि खान सकिने भएको उनीहरुले बताए। चिप्स, चिकेन बार्बीक्यू, ससेज, फ्राइड राइसलगायत विभिन्न परिकारसँग सस खान मिल्ने बनाइएको उनीहरुको भनाइ छ। राम्राे प्याकेजिङका कारण यो सस दुई वर्षसम्म नबिग्रने दाबी उनीहरुको छ।

आगामी दिनमा डिपार्टमेन्ट स्टोर तथा ठूला बजारसम्म पुर्‍याउने योजना रहेको ससको मूल्य ३ सय एमएलको ३ सय रुपैयाँ नै तोकिएको छ। त्यस्तै ५ सय एमएलको ४५० रुपैयाँ छ भने ९ सय रुपैयाँमा कम्बो सेट किन्दा २०० एमएल निःशुल्क पाइने गरेको छ।

आरएसआर हट सस रश्मि गिरी