

डडेल्धुरा। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा डडेल्धुराको चुनावी सरगर्मी दिनदिनै बढ्दै गएको छ।
करिब साढे तीन दशक लामो समय डडेल्धुराबाट निरन्तर प्रतिनिधित्व गर्दै आएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानमा छैनन्।
उनीपछि अब यस जिल्लाको जनप्रतिनिधि बन्ला भन्ने चासो देशभरका जनतामा छ। देउवाको राजनीतिक विरासत बोकेको यस निर्वाचन क्षेत्रमा यसपटक पनि नेपाली कांग्रेसकै शाख जोगाउने कसरतमा कांग्रेसका युवा नेता तथा उम्मेदवार नैनसिंह महर लागिपरेका छन्।
युवा, अध्यनशील र योजना भएका नेताका रूपमा चिनिएका नैनसिंह महर यतिबेला चुनावी अभियानका क्रममा दूरदराजका गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
‘पहाडकी रानी’ भनेर चिनिने डडेल्धुरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोणसहित महर चुनावी मैदानमा छन्।
सात पालिका रहेको जिल्लाका आलिताल, गन्यापधुरा, भागेश्वर, नवदुर्गा, अमरगढी, परशुराम र अजैमेरु गाउँपालिकाका धार्मिक, ऐतिहासिक र प्राकृतिक साैन्दर्यका दृष्टिले विशेष मानिन्छन्।
महरले यी विशेषताहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने मात्र होइन यी विशेषतालाई यहाँकाे विकास र पर्यटनसँग जाेड्ने प्रतिबद्धता जनाएका छन्।
‘सातवटै पालिकाको आफ्नै पहिचान छ, आफ्नै विशेषता छ। ती पहिचानलाई विकाससँग जोडेर रोजगारी र समृद्धिको आधार बनाउन म प्रतिबद्ध छु,’ महरले भने।
संसदका रुपमा चुनेर पठाएपछि आफूले गर्ने मुल काम कानुन निर्माण भए पनि यहाँका जनताका लागि भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र जनताका दैनिक आवश्यकता पूरा गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्ध उनको छ।
उनले रोजगार र जीविकोपार्जनका लागि विदेशिने कर्मठ युवालाई आफ्नै माटोमा स्वरोजगार हुने वातावरण सिर्जनाका लागि आफू लागिपर्ने बताए।
महरले आफूलाई देउवाको ‘उत्तराधिकारी’का रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा होमिएका हुन्।
उनले कांग्रेस यतिबेला एक भएर अघि बढेको बताए। ‘कांग्रेसभित्र संगठन मजबुत बनाउने प्रयासस्वरूप डडेल्धुराका प्रभावशाली नेता कर्ण मल्ललाई पार्टीमा फर्कन जिल्ला नेतृत्वले आह्वानसमेत गरेकाे र त्यसले कांग्रेसमा सकारात्मक सन्देश दिएको उनको भनाइ छ।
यद्यपि यसपटकको डडेल्धुराको प्रतिस्पर्धा रोचक छ। नेकपा एमालेबाट चक्र स्नेही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ताराप्रसाद जोशी, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायतसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
२०४८ सालदेखि सात पटकसम्म देउवालाई विजयी गराएको डडेल्धुराले यसपटक ३४ वर्षपछि नयाँ जनप्रतिनिधि पठाउने पक्का छ।
महर भने देउवाको प्रजातन्त्रप्रतिका लागि गरेको लामो संघर्ष, त्याग र योगदानको सम्मान यसपटक पनि यहाँका जनताले गर्नेमा ढुक्क छन्। यद्यपि अबको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नको उत्तर भने मतदाताले नै दिनेछन्।
डडेल्धुरा निर्वाचन नैनसिंह महर



