Logo
१५ फागुन २०८२, शुक्रबार

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न रोक

अक्षरपाटी
२०८२ फागुन १५ , शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वमा खुला स्थानमा मञ्च बनाएर सांगीतिक कार्यक्रम तथा मेला–महोत्सव आयोजना गर्न प्रतिबन्ध लगाएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार खुला सडक तथा सार्वजनिक स्थानमा भीड जम्मा गर्ने, मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्ने र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइनेछ।

प्रशासनले होलीको नाममा चुनावी प्रचार हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, टिसर्ट, ज्याकेट, गम्छा, ब्याच, मास्क वा लकेट प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। उम्मेदवारको तस्वीर वा निर्वाचन चिह्न अंकित सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसैगरी, होलीलाई मर्यादित र सभ्य बनाउन कसैको इच्छा विपरीत रंग, अबिर दल्ने वा लोला हान्ने कार्यसमेत नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रशासनले सबैलाई कानुन र आचारसंहिता पालना गर्दै शान्तिपूर्ण र सभ्य तरिकाले होली मनाउन अनुरोध गरेको छ।

होली