

o लीला अनमोल
वर्षौंसम्म म एउटा बरको रुखमुनि उभिएँ
जसले आफ्ना हाँगाहरू फैलाएर
मेरो आकाशको सबै चर्को घाम निलिदिएको थियो।
त्यो मेरो आदि-सुरक्षा थियो— पिता!
जसको काँधमा टेकेर मैले पहिलोपटक
संसारको उचाइ नाप्न सिकेकी थिएँ।
त्यो जरापछिको पहिलो जमिन हौ तिमी
जहाँ मैले आफ्नो सारा अस्तित्वको भार बिसाएँ।
हो यो विश्वास हो, शब्दको सम्झौता होइन…
मेरो प्रिय
यो त एउटा नदीले समुद्रलाई गर्ने आत्मसमर्पण हो
यो त एउटा बिउले माटोलाई गर्ने भरोसा हो।
मैले तिम्रो आँखामा त्यही पुरानो गुँडको न्यानोपन भेटें
जुन मेरो बाल्यकालको ठेगाना थियो!
पुरुष हुनुको अर्थ—मात्र एउटा शरीर हुनु रहेनछ
मेरो लागि तिमी हुनुको अर्थ त
डगमगाएको डुङ्गाले किनारको ढुङ्गा भेट्नु रहेछ!
जसरी एउटा मन्दिरको गजुरले
आफ्नो जगलाई कहिल्यै शङ्का गर्दैन,
मैले पनि मेरो आस्थाको अन्तिम ‘मन्त्र’ तिमीलाई सुम्पिएँ।
तिमी मेरो आकाशको त्यो दोस्रो ध्रुवतारा हौ
जसलाई हेरेर अब म
आफ्नो जीवनको बाँकी दिशा तय गर्नेछु।




