



धनगढी । कैलाली को लम्कीचुहा नगरपालिका मा रहेको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच विवाद देखिएको छ।
हालसम्म नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले विकास समिति गठन गरेपछि विवाद सुरु भएको हो। नगरपालिकाले भने अस्पताल औपचारिक रूपमा प्रदेशलाई हस्तान्तरण नभएको अवस्थामा गरिएको समिति गठन अस्वीकार गरेको छ।
नगर प्रमुख सुशीला शाहीले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताएकी छन्। तर, जनशक्ति व्यवस्थापन, आर्थिक स्रोत र सञ्चालन प्रक्रियाबारे स्पष्ट सहमति नभएसम्म हस्तान्तरण नगर्ने उनको भनाइ छ।
नगर कार्यपालिकाको बैठकले पनि प्रदेश सरकारको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ। बैठकमा एक सदस्यले नोट अफ डिसेन्ट लेखेपनि अन्य सदस्यले निर्णयमा समर्थन जनाएका छन्।
यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संघीय सरकारबाट अस्पताल प्रदेश मातहत ल्याउने निर्णय भइसकेको जनाएको छ। मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार कानुनी रूपमा हस्तान्तरण भए पनि व्यवहारिक रूपमा प्रक्रिया पूरा हुन बाँकी छ।
मन्त्रालयले अस्पतालका करार कर्मचारीलाई प्रदेश मातहत ल्याउने प्रक्रिया अघि बढाएको दाबी गरेको छ। तर, नगरपालिकाबाट अपेक्षित समन्वय नहुँदा प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ। मन्त्रालयले नगरपालिकासँग सम्झौता गर्ने प्रस्ताव तयार पारेको भए पनि हस्ताक्षर हुन बाँकी रहेको छ।
यसैबीच, सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर विष्टलाई नियुक्त गरेका छन्। साथै, सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वारलाई नियुक्त गरिएको छ।
अस्पताल अझै प्रदेशलाई पूर्ण रूपमा हस्तान्तरण नभएकाले हाल नगर प्रमुखको अध्यक्षतामा रहेको व्यवस्थापन संरचना यथावत रहेको छ। यसले अस्पताल सञ्चालनमा अन्योल देखिएको छ।
लम्कीचुहा अस्पताल



