



काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसर पारेर ‘नबिल स्वच्छ खानेपानी अभियान’ सुरु गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले आइतबार डिजिटल माध्यमबाट देशभरका १२३ विद्यालयमा एकैसाथ अभियान उद्घाटन गरेका हुन् ।
अभियानमार्फत विद्यालयमा अध्ययनरत बालबालिकालाई शुद्ध खानेपानी उपलब्ध गराउँदै स्वस्थ र सुरक्षित वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । अध्यक्ष चौधरीका अनुसार हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको छ ।
“यो अभियान सञ्चालन गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो,” उनले भने, “आगामी दिनमा यसलाई अझ प्रभावकारी र विस्तारित बनाउँदै लैजानेछौं ।”
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम विद्यार्थीको स्वास्थ्य सुधार, सरसफाइ प्रवर्द्धन तथा सुरक्षित खानेपानीको दिगो पहुँच सुनिश्चित गर्न केन्द्रित रहेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको हो ।
नबिल बैंकका अनुसार अभियान सातै प्रदेशमा विस्तार भइसकेको छ । कोशी प्रदेशमा ८, मधेशमा १६, बागमतीमा ९, गण्डकीमा १०, लुम्बिनीमा ३६, कर्णालीमा १५ र सुदूरपश्चिममा २९ विद्यालयमा स्वच्छ खानेपानीको सुविधा पुर्याइएको छ । यसमा ‘स्मार्ट पानी’को प्राविधिक सहयोग रहेको बैंकले जनाएको छ ।
नेपालमा विद्यालय स्तरमा सुरक्षित पिउने पानीको पहुँच अझै चुनौतीपूर्ण रहेको तथ्यांकले देखाउँछ । नेपाल सरकारका अनुसार करिब ९८ प्रतिशत विद्यालयमा पानीको पहुँच भए पनि तीमध्ये ६८ प्रतिशतमा शुद्धीकरण प्रणाली अभाव छ ।
अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव तथा ढल निकासका कारण पानीका स्रोतमा आर्सेनिक, फलाम तथा हानिकारक जीवाणुको जोखिम उच्च हुने भएकाले बालबालिकाको स्वास्थ्यमा असर पर्ने गरेको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको जनाएको छ । साथै, ‘नबिल एसएसई’ मार्फत सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
नबिल बैंक



