Logo
१३ चैत्र २०८२, शुक्रबार

कोलम्बियामा सैन्य विमान दुर्घटना : मृत्यु हुनेको संख्या ६६ पुग्यो, दर्जनौं बेपत्ता

अक्षरपाटी
२०८२ चैत्र १० , मंगलबार १०:०३ मा प्रकाशित

एजेन्सी। दक्षिण अमेरिकी देश कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुगेको छ।

सोमबार उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको उक्त विमानमा सवारमध्ये अझै पनि धेरै सैनिक बेपत्ता छन्।

कोलम्बियाली सेनाका अनुसार हरक्युलिस सी- १३० सैन्य विमानमा कुल १२१ जना सवार थिए। जसमा ११० सैनिक र ११ जना चालक दलका सदस्य थिए। प्रारम्भिक जानकारी अनुसार विमान टेकअफ गरेलगत्तै दुर्घटनाग्रस्त भएको हो।

यो विमान प्यूर्टो लेगुइजामोबाट उडेको केही समयमै दुर्घटनामा परेको हो। सफ क्षेत्र पुटुमायो प्रान्तमा पर्छ, जुन इक्वाडोर र पेरूसँग सीमाना जोडिएको अमेजन क्षेत्र हो।

दुर्घटनापछि विमानमा रहेको गोला-बारुद र विस्फोटक पदार्थ समेत विस्फोट हुँदा ठूलो क्षति भएको हो। जसले उद्धार कार्यमा समेत कठिनाइ भएको जनाइएको छ।

यद्यपि, हालसम्म कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायुसेनाले जनाएको छ।

यो विमान अमेरिकी कम्पनी लॉकहीड मार्टिनद्वारा निर्माण गरिएको हो। सन् १९५० को दशकमा विकसित गरिएको उक्त विमान कोलम्बियाले सन् १९६० को दशकमा खरिद गरेको थियो। हालसम्म यो विमान सैनिक ढुवानीका लागि प्रयोग हुँदै आएको थियो।

कोलम्बियाका रक्षा मन्त्री पेड्रो सान्चेजका अनुसार विमान सैनिकलाई पुटुमायो क्षेत्रकै अर्को शहरतर्फ लैजाँदै थियो।

दुर्घटनाको कारणबारे प्रारम्भिक रूपमा प्राविधिक खराबी भएको आशंका गरिएको छ। वायुसेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्।

कोलम्बिया विमान दुर्घटना