Logo
३ वैशाख २०८३, बिहीबार

तेस्रो पटक थपेको म्याद पनि सकियो, भेरी-बबई डाइभर्सनको काम आधा पनि भएन

अक्षरपाटी
२०८२ चैत्र २५ , बुधबार ११:०४ मा प्रकाशित

सुर्खेत । तेस्रो पटक थपेको समय सकिँदा पनि राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणकाे काम आधा पनि सम्पन्न हुन सकेको छैन।

तेस्रो पटक थप गरिएको आयोजनाको अवधि पनि चैत २० गते सकिए आयोजना निर्माणको आधा काम अझै बाँकी छ।

आयोजनाको काम नसकिएपछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ। आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले पहल गरेको बताइएको छ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल प्रगति ५० प्रतिशत मात्रै छ।

आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप राख्ने काम) लगायत सम्पन्न गर्नमा लागि चीनको ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभीले २०७६ साउनमा ठेक्का पाएको थियो।

त्यसयता विभिन्न समयमा गरी तीन पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति आधाको हाराहारीमा मात्रै रहेको छ।

सुरुमा चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजना २०८० मै निर्माण सम्पन्न गरिसक्नु पर्ने हो। आयोजना सुरुवातसँगै भएको कोरोना महामारीले काम हुन नसकेको कारण देखाउँदै ठेकेदार कम्पनीले थप एक वर्ष म्याद थपेर २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

पहिलो र दोस्रो पटक एक/एक वर्ष र तेस्रो पटक साढे सात महिना म्याद थप गरेको समयावधि चैत्र २० गते सकिए पछि फेरी म्याद थपको प्रक्रिया अगाडि बढाएको आयोजना निर्देशक हरिदत्त पौडेलले जानकारी दिए। आयोजनाले गत शुक्रबार म्याद थपको निर्णय गरी विभागमा पठाएको उनको भनाइ छ।

‘हामीले म्याद थपका लागि शुक्रबार नै विभागमा फाइल पठाइसकेका छाैं,’ उनले भने, ‘विभागको निर्णय आउन बाँकी छ।’

आयोजनाको बाँकी काम अबको १० महिनाभित्र सम्पन्न गर्ने गरी आगामी पुस महिनासम्मको म्याद थप गर्न सिफारिस भएको बताइएको छ।

‘हामीले एक वर्ष भन्दा कम समय थप्न सिफारिस गरेका छाैं’, आयोजना निर्देशक पौडेलले भने, ‘कसल्टेन्सीको राय, ठेकेदार कम्पनी माग र आयोजनाको सिफारिसकै आधारमा विभागले निर्णय गर्दा समय तलमाथि हुन पनि सक्छ।’

आयोजनाबाट शुक्रबार म्याद थपको निर्णय गरिएको छ। उनले भने, ‘स्वीकृतिका लागि आयोजना निर्देशक काठमाडौँमै हुनुहुन्छ। उताबाट निर्णय भए पछि म्याद थप हुन्छ ।’

आयोजनामा भइरहेको प्रगति, परामर्शदाताहरूको राय सुझावका आधारमा आगामी २०८३ पुससम्मको म्याद थपको लागि प्रक्रिया थालिएको बताए।

भेरी बबई डाइभर्सन

ट्रेन्डिङ ( साप्ताहिक )