Logo
२५ वैशाख २०८३, शुक्रबार

कैलालीका सामुदायिक वनमा काठ कुहिँदै, उपभोक्ता काठ नपाएर हैरान

अक्षरपाटी
२०८३ वैशाख २ , बुधबार ११:०४ मा प्रकाशित

कैलाली । वन स्रोतले धनी कैलालीमै स्थानीय नागरिक आवश्यक काठ नपाएर हैरान हुनुपरेको छ। 

घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीले घर निर्माण गर्दा सामुदायिक वनबाट काठ नपाएपछि सःमिलबाट महँगोमा किन्नुपरेको बताइन्। “वनमा काठ छ भन्ने लागेको थियो, तर प्रक्रिया निकै झन्झटिलो रहेछ,” उनले भनिन्।

कैलाली र कञ्चनपुरका धेरै उपभोक्ताले यस्तै समस्या भोगिरहेका छन्। वनमा ढलेका र सुकेका रुख प्रशस्त भए पनि उठानका लागि लामो प्रक्रिया लाग्दा काठ वनमै कुहिने गरेको छ।

वन कार्ययोजना र विभिन्न तहको अनुमति आवश्यक पर्ने व्यवस्थाले काठ संकलन ढिलो हुने गरेको सामुदायिक वनका पदाधिकारी बताउँछन्। यसले काठ बिग्रिने, चोरी हुने र मूल्य घट्ने समस्या पनि बढाएको छ।

त्यसैगरी वनभित्र थुप्रिएको सुकेको काठका कारण डढेलोको जोखिमसमेत बढ्दो छ। सरोकारवालाले काठ संकलन तथा वितरण प्रक्रिया सरल र सहज बनाउनुपर्नेमा जोड दिएका छन्।