Logo
३० जेठ २०८३, शनिबार

मनोहराको अव्यवस्थित बस्तीमा फेरि चल्यो डाेजर

अक्षरपाटी
२०८३ वैशाख १३ , आईतबार ११:०४ मा प्रकाशित

काठमाडौं। शनिबार बस्ती हटाउन पुगेको बस्ती खाली गराउने टोली आज फेरि एका बिहानै मनोहरा बस्ती पुगेको छ।

कडा प्रतिवाद र ढुंगामुढा भएपछि पछि हटेको सुरक्षाकर्मीसहितको टोली आज पूरा तयारीका साथ भक्तपुरको सीमा क्षेत्र मनाेहरा सुकुम्बासी बस्तीमा पुगेको हो।

आज आइतबार बिहानै डोजरसहित पुगेको टोलीले बस्ती भत्काउन सुरु गरेको छ। बस्ती वरपर उच्च सुरक्षा घेरा बनाइएको छ। सम्भावित प्रतिरोधलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

हिजो बिरोधका क्रममा केही सुरक्षाकर्मी घाइतेसमेत भएका थिए भने स्थानीयको कडा प्रतिरोधपछि डोजरसहितको टोली फर्किएको थियो।

तर आज पुनः तयारीसाथ पुगेको टोलीले मनोहरा सुकुम्बासी बस्ती हटाउने काम सुरु गरेको हो।

सरकारले वास्तविक सुकुम्वासीको व्यवस्थित बसोबास गर्ने बताए पनि स्थानीयले भने आफूहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन नपाइने बताएका छन्।

डाेजर मनोहरा सुकुम्बासी