Logo
२२ वैशाख २०८३, मंगलबार

संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइका साथ बन्द गर्न विपद् प्राधिकरणको निर्देशन

अक्षरपाटी
२०८३ वैशाख २२ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गहरूमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ।

प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न जोखिमयुक्त सडक खण्डमा आवश्यकतानुसार आवागमन बन्द गराउन आग्रह गरेको हो। साथै, यस्तो निर्देशनको अवज्ञा गर्ने सवारी चालक र सवारीधनीलाई कडाइका साथ कारबाही गर्न पनि भनिएको छ।

सोमबार साँझ काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमका कारण सवारीहरू रोक्न आग्रह गरिएको थियो। तर, चेतावनीको बेवास्ता गर्दै पाँच वटा सवारी अगाडि बढ्दा ८९ जना यात्रु बाढीमा फसेका थिए। पछि उनीहरूको सकुशल उद्धार गरिएको थियो।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार केही सवारी चालकको लापरवाहीका कारण यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि यस्तो निर्देशन जारी गरिएको हो। उनले स्थानीय अवस्था र सडक जोखिमको विश्लेषण गरी आवश्यकताअनुसार आवागमन नियन्त्रण गर्न आग्रह गरे।

यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले जोखिमयुक्त सडक मार्गहरूको पहिचान गरी सम्बन्धित निकायहरूसँग समयमै समन्वय गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, विपद्का कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेमा उनीहरूको सुरक्षाका लागि पूर्वतयारी योजना बनाई कार्यान्वयन गर्न भनिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा पूर्वसूचना, पूर्वचेतावनी र अन्य जानकारीहरू पालना गर्न पनि सबैमा अनुरोध गरेको छ।

विपद् प्राधिकरण

ट्रेन्डिङ ( साप्ताहिक )