



काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेलमा ८१ रनको शानदार जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९।५ ओभरमा १७५ रनमै अलआउट भयो।
नेपालको जितमा गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। उनको घातक प्रदर्शनका कारण ओमान ४० ओभर पूरा खेल्न पनि सकेन। यो उनको ओडिआई करियरकै उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक हो।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हम्मद मिर्जा ३४ र हसनैन वाहाव २९ ले केही संघर्ष गरे। कप्तान जतिन्दर सिंह १२ रनमै आउट भए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। ओपनर आसिफ शेखले ९७ बलमा ७ चौका र १ छक्का मद्दतमा ९४ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनी शतकबाट ६ रनले चुके।
अर्जुन कुमालले ४८ रन, आरिफ शेखले ४३ रन तथा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए। आसिफ र अर्जुनबीच दोस्रो विकेटका लागि १२३ रनको महत्वपूर्ण साझेदारी भएको थियो।
यस जितसँगै नेपालले सिरिजका ४ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ। कुल २४ खेलबाट १८ अंक जोडेको नेपाल लिग–२ मा सातौं स्थानमा यथावत रहेको छ।
यसअघि नेपालले युएईलाई दुई खेलमा पराजित गरेको थियो भने ओमानसँग एक खेलमा हार बेहोरेको थियो। आजको जितसँगै नेपालले सो हारको बदला पनि लिएको छ।
अब नेपालले आगामी वैशाख २९ गतेदेखि अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–२ को अर्को शृंखला घरेलु मैदानमै खेल्नेछ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपाल क्रिकेट संघ



