Logo
२६ साउन २०८३, मंगलबार

कप्तान बनेपछि सन्दीपले रोहितलाई भने– ‘टिम र देशका लागि तिम्रो अझै धेरै योगदान आउन बाँकी छ’

अक्षरपाटी
२०८३ साउन २६ , मंगलबार ०१:०८ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय कप्तान नियुक्त भएपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको प्रशंसा गरेका छन् ।

कप्तानको जिम्मेवारी पाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो प्रतिक्रिया दिँदै सन्दीपले रोहितले नेपाली क्रिकेट टिमका लागि गरेको योगदान र नेतृत्वको प्रशंसा गरेका हुन् ।

सन्दीपले रोहितलाई धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्‍यौ, त्यसका लागि ।’

उनले रोहितको टोलीप्रतिको योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुने बताएका छन् ।

‘टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ,’ सन्दीपले लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय क्रिकेट टिमको कप्तानबाट रोहितलाई हटाउँदै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो ।

यसअघि नै रोहितबाट टी–२० टिमको कप्तानीसमेत खोसिएको थियो । कप्तानीबाट हटाइए पनि रोहित नेपाली टिममा प्रमुख ब्याट्सम्यानका रूपमा निरन्तर रहनेछन् ।

नयाँ कप्तानको जिम्मेवारी पाएका सन्दीपले भने रोहितको नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा पनि उनको योगदान नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहने संकेत गरेका छन् ।

नेपाल क्रिकेट संघ रोहितकुमार पौडेल सन्दीप लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )